काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार दिउँसो जन्मथलो कास्कीको अन्नपूर्ण गाउँपालिकाको लेवाडे पुगे । अन्तर प्रदेश मुख्यमन्त्री बैठक एवं राष्ट्रिय समन्वय परिषद्को बैठकका लागि आज बिहान मात्र पोखरा आइपुगेका उनी बैठक उद्घाटन सम्पन्न भएलगत्तै जन्म गाउँ पुगेका हुन् ।
दाहाल तेस्रोपटक प्रधानमन्त्री भएपछि पहिलोपटक जन्म गाउँमा पाइला टेके । प्रधानमन्त्रीलाई आफ्नो गाउँमा पाएपछि लेवाडेवासी उत्साहित थिए । प्रधानमन्त्री दाहालले लेवाडेलगायत आसपासका क्षेत्रको विकासका बारेमा चासो राखेका थिए ।
स्थानीय जनप्रतिनिधि तथा गाउँलेसँग उनले आफूले प्रारम्भिक शिक्षा लिएको महेन्द्र आधारभूत विद्यालयलगायत गाउँको विकासमा बारेमा चासो दिनुभएको अन्नपूर्ण गाउँपालिका-२ का वडाध्यक्ष पिताम्बर भण्डारीले बताए ।
उनका अनुसार प्रधानमन्त्रीलाई आफ्नो गाउँमा पाउँदा स्थानीयवासीसमेत उत्साहित थिए । वडाध्यक्ष भण्डारीका अनुसार प्रधानमन्त्रीले गाउँको शिक्षा, स्वास्थ्य, बाटोघाटो तथा विकासका बारेमा कुराकानी गरेका थिए ।
अध्यक्ष भण्डारीले भने, 'प्रधानमन्त्रीलाई पाउँदा हामी अत्यन्त खुशी भयौँ । उहाँले पनि मसिनो गरी यहाँको विकासका बारेमा चासो दिनुभयो । हामीले यहाँको अवस्थाका बारेमा उहाँलाई जानकारी गरायौँ । केही योजनामा सहयोग गर्न आग्रह गर्दा उहाँले आफ्नोतर्फबाट सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो ।'
स्थानीय जनतासँगको अन्तरक्रियामा प्रधानमन्त्री दाहालले गाउँको अवस्था, खेतीबाली, मौसमलगायतका विषयमा जिज्ञासा राखेका थिए । वडाध्यक्ष भण्डारीले प्रधानमन्त्रीसँग विशेषगरी अन्नपूर्ण गाउँपालिकाको नागडाँडाबाट पामे हुँदै पोखरा जोड्ने सडक स्तरोन्नतिका लागि माग गरेको बताए ।
वडाध्यक्ष भण्डारीले कास्कीको विकासमा प्रधानमन्त्रीले गरेकाे योगदानको प्रशांसा गर्दै आगामी दिनमा समेत यस क्षेत्रको विकासलाई प्राथमिकता दिन आग्रह गरेका थिए ।
सो अवसरमा प्रधानमन्त्री दाहालले अन्नपूर्ण-२ का साथै हेम्जाका स्थानीयसमेतसँग अन्तरक्रिया गरेका थिए । अन्तरक्रियामा प्रधानमन्त्रीले स्थानीय अवस्था र जनताका अनुभूतिबारे विशेष चासो राखेका थिए ।