काठमाडौं । काठमाडौं प्लाजामा रहेको सहायता कक्षमा काठमाडौं महानगरपालिकाले साङ्केतिक भाषाको अनुवादक (दोभासे) राख्ने निर्णय गरेको छ । सामाजिक समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
समितिका संयोजक रामकुमार केसीले कार्यालयमा उपलब्ध गराउने सेवासँगै आवश्यकताका आधारमा लक्षित वर्गलाई साङ्केतिक भाषाको तालिम पनि दिने बताए ।
बैठकमा चालु आर्थिक बर्षमा सामाजिक विकास विभागले कार्यान्वयन गर्नु पर्ने योजनाको समीक्षा भएको थियो । चेस, बाघचाल, बास्केटबलजस्ता खेल सञ्चालन गर्ने, विधागत, क्षमता विकास र सिपमूलक तालिम चलाउने, संघसंस्थाहरुमार्फत सञ्चालन गरिने सामाजिक कार्यक्रम कार्यान्वयनको अवस्था, तत्काल थालनी गर्नु पर्ने कामको अधिकारीहरुलाई जिम्मेवारी प्रदान बैठकमा मुख्य विषय थिए ।
बैठकमा अधिकारीहरुले लघु उद्यम विकास सम्बन्धी सिप विकास तालिम, गरिव घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यका लागि तथ्याङ्क संकलनलगायत कार्यक्रममा बारेमा अहिलेसम्म भएका कामका बारेमा जानकारी गराएका थिए ।
महानगरका अनुसार आज बिहान १० बजेसम्ममा तथ्याङ्क सङ्कलन माग गरिएका २१ जना सुपरिवेक्षकका लागि १ हजार ९ सय जनाको र २०९ जना गणकका लागि ५ हजार ८ जनाको आवेदन प्राप्त भइसकेको छ । ६ पुससम्म अनलाइनबाट फाराम भर्ने अवधि छ ।
यी आवेदकमध्ये शैक्षिक योग्यताका लागि ६० अङ्क, महानगरबासीका लागि १० अङ्क र तालिमका लागि १० अङ्क गरी ८० अङ्कलाई आधार मानेर स्वचालित प्रणालीबाट सर्ट लिस्ट तयार हुनेछ । यसरी छानिएकालाई २० अङ्कमा अन्तरवार्ता लिइनेछ ।