काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षाविनाको समाज कल्पना पनि गर्न नसकिने भएकाले लगानीअनुसारको प्रतिफल प्राप्त हुनुपर्ने बताएका छन् ।
शैक्षिक विकासमा सरकारले गरेको लगानीअनुसार प्रतिफल प्राप्तिका लागि विद्यार्थीहरू केन्द्रित हुनुपर्नेमा उनको जोड थियो । त्रिभुवन विश्वविद्यालयको आज भएको ४९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शिक्षामा नेपाल सरकारको लगानी पर्याप्त नभए पनि सक्दो प्रयास देखिएकाले मुलुकको भाग्य र भविष्य जनशक्तिको उत्पादनसँग जोडिएको बताए ।
“राज्यको लगानी भन्नुको तात्पर्य जनताकै लगानी हो । यसर्थ यहाँहरूको राष्ट्र र जनताप्रति केही दायित्व र केही कर्तव्य छ । यो दायित्व र कर्तव्य निर्वाह गर्ने कुरामा यहाँहरू चुक्नुहुने छैन भन्नेमा म आशावादी छु”, राष्ट्रपति पौडेलले भने, “तपाईंहरूले प्राप्त गर्नुभएको ज्ञान, सीप र प्रविधि राष्ट्र निर्माणका लागि उपयोगी हुनेछ र एउटा सक्षम, सबल तथा समृद्ध राष्ट्र निर्माणका लागि दीक्षित हुने तपाईं छात्रछात्राको भूमिका महत्त्वपूर्ण हुनेमा म विश्वस्त छु ।”
राष्ट्रपति पौडेलले स्वतन्त्रता, समानता, न्याय र समृद्धिको प्रगतिशील मार्गमा मुलुकलाई अघि बढाउन नेपालीहरू हिँडिरहेको बताउँदै देश परिवर्तनको बाटोमा अघि बढ्दाको सङ्क्रमणकालीन चुनौती र बिघ्नबाधाको सामना पनि नेपालीले गर्न परिरहेको बताए।
“शिक्षित हुनेलाई दीक्षित गर्ने विद्वान र विदुषीहरूको यस जमघटमा राष्ट्रहितप्रतिको सुमार्ग निर्धारण होस् । आज हामी हाम्रो राष्ट्रलाई स्वतन्त्रता, समानता, न्याय र समृद्धिको प्रगतिशील मार्गमा अघि बढाउनका लागि हिँडेका छौँ”, राष्ट्रपति पौडेलले भने, “देश परिवर्तनको बाटोमा अघि बढ्दाका सङ्क्रमणकालीन चुनौती र बिघ्नबाधाको सामना पनि तपाईं हामीहरूले नै गर्नुपरेको छ ।”
राष्ट्रपति पौडेलले समावेशी विशेषतायुक्त अहिलेको संविधानले सामाजिक एकता र समानता नेपाली समाजमा लागू गर्ने क्रममा रहेको बताए । उनले भौगोलिक, सांस्कृतिक र जातीय विविधतायुक्त नेपाली समाजको एकताका लागि अहिलेको संविधान र यो व्यवस्था अत्यन्तै महत्त्वपूर्ण पक्ष हो भनेर हामीले बुझ्न जरुरी रहेको स्पष्ट पारे ।
राष्ट्रपति पौडेलले भने, “तपाईंहरूलाई पनि जानकारी भएकै हो कि ‘लिग अफ नेसन्स’को असफलतापछि संयुक्त राष्ट्रसङ्घको जन्म भयो । द्वितीय विश्वयुद्धको समाप्तिपश्चात् व्यवहारमा आएको संयुक्त राष्ट्रसङ्घले आज ७८ वर्ष पूरा गरेको छ । विश्वमा शान्ति स्थापना गर्ने र साना मुलुकका समस्यालाई मुखरित गर्ने यस संस्थाको योगदानलाई हामी कति पनि अवमूल्यन गर्न सक्दैनौँ । तथापी यताका दशक अस्थिरता र द्वन्द्वउन्मुख देखिन्छन् । यस्तो सांसारिक पृष्ठभूमिमा हाम्रो देशमा जनताको दुःख र त्यागपश्चात् जनता सार्वभौम हुने लोकतान्त्रिक व्यवस्था स्थापना भएको छ । समावेशी विशेषतायुक्त यस व्यवस्था र अहिलेको संविधानले सामाजिक एकता र समानता नेपाली समाजमा लागू गर्ने क्रममा रहेको छ ।”
राष्ट्र निर्माण र राष्ट्रिय समृद्धिका लागि उच्च शिक्षाको जननीका रूपमा विश्वविद्यालय जस्तो प्राज्ञिक संस्थाको अहम् भूमिका रहने कुरा निर्विवाद रहेको बताउँदै राष्ट्रपति पौडेलले कुनै पनि राष्ट्रको समृद्धि त्यहाँको प्राकृतिक स्रोतमा मात्र निर्भर नभई त्यसको समुचित परिचालनका लागि आवश्यक ज्ञान, सीप, प्रविधिको विकास र प्राप्तिमा निर्भर पर्ने उल्लेख गरे।
ज्ञान, सीप, प्रविधिको विकासलाई प्रभावकारी, जीवनोपयोगी र मुलुकका लागि उपलब्धिमूलक बनाउन त्रिभुवन विश्वविद्यालयले प्रदान गर्ने उच्च शिक्षा समयसापेक्ष, बजारमुखी र विश्वबजारमा प्रतिस्पर्धी बनाउनेतर्फ समयसापेक्ष नीति अँगाल्नु जरुरी रहेको उनको भनाइ थियो ।