छेन्दु । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालका विभिन्न विमानस्थलमा हवाइ उडानको सङ्ख्या वृद्धि गर्न सिचुवान एयरलाइन्सका पदाधिकारीसँग आग्रह गरेका छन् ।
सिचुवान एयरलाइन्सका अध्यक्ष श्र चुइसँग शुक्रबार भएको भेटमा उनले छेन्दुबाट काठमाडौंमा उडान सङ्ख्या बढाउन तथा पोखरा र भैरहवा विमानस्थलमा नियमित उडान गर्न आग्रह गरे ।
सम्पर्क सञ्जालको बढोत्तरीसँगै दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने उल्लेख गर्दै उनले भने, 'यसअघि छेन्दु-ल्हासाकाठमाडौँ उडान थियो, अहिले छेन्दुबाट काठमाडौं सिधा उडान भएको छ । छेन्दु-काठमाडौँको उडान सङ्ख्या वृद्धि तथा छेन्दुबाट भैरहवामा नियमित उडान गर्न सकियो भने कनेक्टिभिटी बढाउँछ, यसले दुई देशबीको सम्बन्ध थप प्रगाढ हुन्छ ।'
नेपाल र चीनबीच आर्थिक तथा सांस्कृतिक सम्बन्ध निकै प्रगाढ रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीचको सम्बन्धलाई अझ मबजुद बनाउन हवाइ सम्पर्क सञ्जालको निकै महत्वपूर्ण भूमिका हुने बताए ।
'नेपालले कृषि, जलस्रोतका अतिरिक्त पर्यटनलाई उच्च महत्त्व दिएको छ, नेपालमा चिनियाँ पर्यटक भित्रयाउन हवाइ सम्पर्क सञ्जाल विस्तारले सहयोग गर्न सक्छ, यसका लागि सिचुवान एयरलाइन्सले भूमिका खेल्न सक्छ', उनले भने ।
सो क्रममा एयरलाइन्सका अध्यक्ष चुइले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सिचुवान एयरलाइन्सको चार्डड उडानमार्फत् पोखरा विमानस्थलमा उत्रिएकाे स्मरण गरे ।
उनले एयरलाइन्सको बजार विस्तार गर्न आफूहरु तयार रहेको बताउनुभयो । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान एयरलाइन्सको अप्रेसन सेन्टरको अवलोकन गरेका थिए ।