काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेल प्रकरणमा कतै, कसैबाट कानुन विपरितका काम कारबाही भए गरेको पाइए कानून बमोजिम हदैसम्मको कारबाही गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले एनसेलको शेयर खरिदबिक्री अस्वाभाविक रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले एनसेलको वैदेशिक लगानी शेयर खरिदबिक्री, कर राजश्व, विदेशी मुद्रा सटही समेतको विषयमा प्रमाण तथा कागजात सङ्कलन भइरहेको बताए ।
उनले अध्ययन तथा छानबिन समितिको यकिन राय सुझावसहितको प्राप्त भएपछि सो राय सुझावसहितको आधारमा नेपाल सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुको नियमन, विदेशी लगानीको वातावरण निर्माणमा थप सहजीकरण, विदेशी मुद्रा सटही सुविधा र कर प्रशासनमा सुधारका लागि आवश्यक कदम चाल्ने प्रतिवद्धता व्यक्त गरे ।
‘‘एनसेलको वैदेशिक लगानी शेयर खरिदबिक्री, कर राजश्व, विदेशी मुद्रा सटही समेतको विषयमा प्रमाण तथा कागजात संकलन समेतको कार्य गरिरहेका छौँ । अध्ययन तथा छानबिन समितिको यकिन राय सुझावसहितको प्राप्त भएपछि सो राय सुझावसहितको आधारमा नेपाल सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुको नियमन, विदेशी लगानीको वातावरण निर्माणमा थप सहजीकरण, विदेशी मुद्रा सटही सुविधा र कर प्रशासनमा सुधारका लागि आवश्यक कदम चाल्नेछ ।,’’
उनले भने, ‘‘यस प्रकरणमा कतै, कसैबाट कानून विपरितका काम कारबाही भए गरेको पाइएमा जुन सरकारलाई सहज नलागेकै हुनाले मैले शुरुमै निर्देशन जारी गरेको हो, सहज र स्वभाविक छैन भन्ने देखिएको हुनाले नै निर्देशन जारी गर्नुपरेको हो ।’’
उनले भने, ‘‘यसमा कहीँ न कहीँ गलत छ भन्ने लागेकैले छानबिन समिति बनाइएको हो । यसमा कहीँ कतैबाट कानुन विपरितका काम कारबाही भए, गरेको पाइएमा कानुनबमोजिम हदैसम्मको कारबाही गर्न नेपाल सरकार प्रतिवद्ध रहेको छ ।’’ प्रधानमन्त्री प्रचण्डले एनसेल शेयर खरिदबिक्री सहज नलागेकै कारण सरकारले अध्ययन समिति बनाएको स्पष्ट पारे ।