दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले एमबिबिएस अध्ययनका लागि एक छात्रलाई छात्रवृत्तिस्वरुप ११ लाख ६६ हजार सहयोग गरेको छ ।
आँबुखैरेनी गाउँपालिका-१ निवासी दीपक दवाडीका छोरा दिक्षण दवाडीलाई अध्ययनका लागि गाउँपालिकाले पहिलो किस्ताबापत रु ११ लाख ६६ हजार सहयोग गरेको हो ।
उक्त रकमको चेक गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले शुक्रवार दवाडीलाई हस्तान्तरण गरे ।
गाउँपालिकाले दवाडीलाई कूल ३५ लाख प्रदान गर्नेछ । पहिलो किस्ताबापतको रकम शुक्रवार हस्तान्तरण गरिएको अध्यक्ष चुमानले बताए ।
गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९/८० को नीति, कार्यक्रम तथा बजेटमा उल्लेख भएबमोजिम ती विद्यार्थीलाई एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको छ ।
चिकित्सा शास्त्रमा स्नातक तह (एमबिबिएस) अध्ययन गर्ने विद्यार्थीसँग छात्रवृत्ति करार सम्झौता गरी छात्रवृत्तिमा अध्ययनको व्यवस्था मिलाइएको अध्यक्ष चुमानले बताए ।
उनले भने, ‘अध्ययनपश्चात् अनिवार्यरुपमा दुई वर्ष आँबुखैरेनी अस्पतालमा सेवा गर्नुपर्ने सर्त राखिएको छ ।’ गाउँपालिकाले गत मङ्सिरदेखि आँबुखैरेनी अस्पताल सञ्चालनमा ल्याएको छ ।
छात्रवृत्तिका लागि गाउँपालिकाले छात्रवृत्तिसम्बन्धी सूचना आह्वान गरेकामा छनोट समितिको सिफारिसबमोजिम दवाडीलाई पहिलो किस्ताबापतको रकम प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।
छात्रवृत्ति प्राप्त गर्ने दवाडीले यो रकमले आफ्नो अध्ययनमा ठुलो टेवा मिलेको बताए ।