काठमाडौं । उत्तरपश्चिमी चीनको दुर्गम गाउँहरूमा उद्धारकर्मीहरूले चिसो अवस्थामा भत्किएका घरका भग्नावेशषबाट मंगलबार भूकम्पमा परी मृत्यु भएका १२७ जनाको शव निकालेका छन् ।
मंगलबार दिउँसोसम्म गान्सु प्रान्तमा मध्यरातभन्दा ठीकअघि गएको भूकम्पबाट कम्तीमा ११३ जनाको मृत्यु र ५३० जना घाइते भएको सरकारी सञ्चारमाध्यमले बताएका छन् ।
सरकारी समाचारपत्र पिपुल्स डेलीका अनुसार छिमेकी किंघाई प्रान्तको ह्याडोङमा थप १४ जनाको मृत्यु र १९८ जना घाइते भएका छन् ।
सरकारी प्रसारक सीसीटीभीका अनुसार भूकम्पबाट १ लाख ५५ हजारभन्दा घेरै भवन क्षतिग्रस्त भएका छन् र वासिन्दाहरू सुरक्षाका लागि चिसो सडकमा भागेका थिए । भूकम्पको केन्द्र नजिकै एक गाउँमा इँटाले बनेको एउटा घरको बाहिर र भित्री पर्खाल तथा अर्को भवनको छत पूरै ढलेको देखेको एएफपीका संवाददाताहरूले बताएका छन् ।
‘म ७० वर्षको भएँ र मैले मेरो जीवनमा यति शक्तिशाली भूकम्पको अनुभव कहिले गरेको छैन,’ स्थानीय वेनचाङले भने, ‘म अब यो घरमा बस्न सक्दिनँ । किनकी यो धेरै खतरनाक छ, मेरा आफन्तहरूलाई अन्यत्र कतै सारिएको छ ।’
अर्को स्थानमा एउटा मस्जिदको छानो भत्किएको छ र अर्को भवन भग्नावशेषमा परिणत भएको छ । सडकहरू आपत्कालीन सवारीले भरिएका थिए र एएफपीको टोलीले ‘भूकम्प राहत आपूर्ति’ लेखिएको रातो ब्यानरले ढाएिको ट्रकहरूलाई देखेका थिए ।
साँझ भएपछि स्वयंसेवकहरूले उद्धारकर्मीहरूका लागि आधार बनाउन सहरको चोकमा टेन्ट लगाउन प्रयास गरेका छन् । छेउमा २ दर्जन सैन्य ट्रक राखिएका थिए । ‘हाम्रा लागि अत्यावश्यक चिजहरू चाँडो तयार गर्नुछ, किनकि आज राति तापक्रम माइनस १७ डिग्री सेल्सियससम्म पुग्नेछ ।’