चितवन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारको विकल्प खोज्न नपर्ने बताएका छन् ।
भरतपुर विमानस्थलमा पत्रकारसँग आज कुरा गर्दै उनले सरकारले राम्रो काम गर्दै हिम्मतका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।
सरकारले भ्रष्टाचारका केश (मुद्दा) मा चासो राखेको उल्लेख गर्दै अध्यक्ष नेपालले भने, ‘सरकारले भ्रष्टाचारका विषयमा कडाइ गरेको छ, दण्डित गर्ने कदम चालेको छ भनेर प्रशंसा भएको छ ।’
कामको आधारमा सरकारको प्रशंसा र आलोचना गर्ने उल्लेख गर्दै उनले भने, ‘आलोचना, निन्दा गर्नेहरू पनि हुन्छन्, प्रशंसा गर्नेहरू पनि हुन्छन् ।’
आसन्न राष्ट्रियसभा निर्वाचनबारे उनले यही गठबन्धनबीच तालमेल हुने बताए ।
गठबन्धनका दलबीच छलफल गरेर सिटको टुंगो लाग्ने उल्लेख गर्दै नेता नेपालले गठबन्धनबीच सिटको बाँडफाँट भएपछि आफ्नो पार्टीले उम्मेदवारका विषयमा मापदण्ड बनाउने जानकारी दिए । उनले भने, ‘कति सिट हाम्रो भागमा पर्ने हो, कुन प्रदेश र कुन क्लस्टरमा हाम्रो भाग पर्ने हो । यी कुरा टुंगो लागिसकेपछि हामीले मापदण्ड बनाएर उम्मेदवार चयन गर्छाैं ।’
पार्टीभित्र राष्ट्रिय सभामा जाने व्यक्तिको कुनै कमी नभएको भन्दै उनले उम्मेदवारको लर्काे लागेको बताए ।
नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत नेतालाई पक्राउ पुर्जी जारी भएको विषयमा अध्यक्ष नेपालले पक्राउ पुर्जी जारी हुनु अनुचित भएको बताए । उनले भने, ‘हामी समाजवादी मोर्चामा पनि छौं र गठबन्धन सरकारमा पनि छौं, कानूनी प्रबन्धलाई पनि हेर्नुपर्ने हुन्छ तर उहाँहरूमाथि जुन गिरफ्तार गर्ने वारेन्ट जारी भएको छ, यो अनुचित छ ।’
नेपालमा आफूहरूले द्वन्द्व समाधान गर्न छलफल, परामर्श र समझदारीको बाटो अवलम्बन गर्दै आएको बताउँदै उनले भने, ‘हतियारबन्द बाटो लिने होइन, यो समस्यालाई बल्झाउने काम कहीँकतैबाट हुनु हुँदैन ।’