काठमाडौं । सरकारले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणबाट नआत्तिन सबैमा आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएको संक्रमणबाट डराउन नपर्ने बताए ।
उनले भारतमा देखिएको संक्रमण श्वासप्रश्वास सम्बन्धी रहेकोले आत्तिनुपर्ने अवस्था नरहेको बताए । अहिले भारत र चीनमा श्वासप्रश्वास समस्या बढिरहेको छ । उनले कोरोनाका बेला तयार गरिएको सघन उपचार कक्ष (आईसीयू), अक्सिजन लगायत भौतिक पूर्वाधार आवश्यक परेका बेला प्रयोग गर्न सकिने बताए ।
‘अहिले देखिएको नयाँ भेरियन्ट नयाँ भए पनि नयाँ लक्षण यसमा छैन । त्यही श्वासप्रश्वास सम्बन्धी नै लक्षण अहिलेको नयाँ भेरियन्टमा देखिएको छ,’ उनले भने, ‘हामीसँग भएका भौतिक पूर्वाधार र जनशक्ति तालिमप्राप्त भएकाले आत्तिहाल्नुपर्ने अवस्था छैन ।’
उनका अनुसार सीमानाका र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेक्सलाई तयारी अवस्था राखिएको र श्वासप्रश्वास सम्बन्धी आएका बिरामीलाई विशेष निगरानी गर्न आग्रह गरिएको छ । उनले लामो समयसम्म श्वासप्रश्वास समस्या देखिएका बिरामीलाई भने अणुवांशिक अध्ययन (जिन सिक्वेन्सिङ) गर्न निर्देशन दिएको बताए ।
उनले सबैले कोरोना भाइरस विरुद्धको खोप लगाइसकेको हुनाले नयाँ भेरियन्टको संक्रमणको रोकथाम खोपले गर्ने बताए ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) भारतको केरला राज्यमा कोभिड–१९ को नयाँ भेरिएन्ट भेटिएको पुष्टि गरेको छ ।