काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले काठमाडौं उपत्यका भित्रको अपराध नियन्त्रणका लागि सीसी क्यामरा जडानलाई प्राथमिकतामा राखिएको बताएका छन् ।
टोखा नगरपालिका–९ नयाँबसपार्क क्षेत्रमा बन्न लागेको सामुदायिक सेवा केन्द्र र प्रहरी प्रभाग गोंगबुको भवनको आज शिलान्यास गर्दै उनले समाजभित्र देखिने विकृति, विसंगति अन्त्यका लागि प्रहरीले विभिन्न स्थानीय तहको सहकार्यमा सीसी क्यामरा जडानको कामलाई प्राथमिकतामा राखेको बताए ।
‘काठमाडौं र ललितपुर महानगरपालिका एवं बूढानीलकण्ठ नगरपालिकासँग मिलेर सीसी क्यामरा जडानको कामलाई उच्च प्राथमिकता दिएका छौं, टोखा नगरपालिकासँग पनि सहकार्य गरेर बसपार्क क्षेत्रको अपराध न्यूनीकरण गर्न सकिन्छ,’ उनले भने ।
एआईजी थापाले हालसम्म काठमाडौं उपत्यकाभित्र ३ हजार ४८५ सीसी क्यामरा जडान भएको बताए । उनले काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको सहकार्यमा थप ५०० सीसी क्यामरा जडान गरी ३ हजार ९५६ सीसी क्यामरा जडानको कामलाई अगाडि बढाइएको उल्लेख गरे । उनले नयाँ बसपार्क क्षेत्र वरपर हुने विकृति, विसंगति अन्त्यका लागि प्रहरी सधैं तत्पर रहेको बताए ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सामुदायिक सेवा केन्द्र र प्रहरी प्रभाग गोंगबुको भवन निर्माणका लागि आवश्यक पर्ने जग्गा प्राप्तिका लागि नगरपालिकाले निर्णय गरिसकेको बताए ।
टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले प्रहरीको उपस्थिति जहाँ हुन्छ, त्यहाँको अपराध न्यूनीकरण हुने भएकाले टोखामा प्रहरीको उपस्थिति गराउनका लागि नगरपालिकाले जग्गा उपलब्ध गराएको बताए ।
९ आना जग्गामा ४ करोड ५० लाखको लगानीमा बन्न लागेको भवन साढे ४ तल्लाको हुने सामुदायिक सेवा केन्द्र गोंगबुका अध्यक्ष केदारनाथ पाठकले जानकारी दिए । भवन सामुदायिक सेवा केन्द्रबाट गठन भएको निर्माण समितिले १ वर्ष लगाएर निर्माण गर्नेछ ।