काठमाडौं । जिल्ला प्रशासन कार्यालय जिल्लाको प्रमुख प्रशासकीय निकाय हो । यस कार्यालयले जनतालाई उपलब्ध गराउने सेवा सुविधालाई प्रभावकारी बनाउने दायित्व बोकेको हुन्छ ।
जिल्ला भित्र रहेका सरकारका विभिन्न निकाय र कार्यालयहरूको बीचमा समन्वय गराउने, नियन्त्रण गर्ने तथा उपलब्ध सेवाको अवस्थाको निगरानी गर्ने जिम्मेवारी पनि यस कार्यालयको हुन्छ । स्थानीय अधिकारीको काम पनि जिल्ला प्रशासन कार्यालय मार्फत गाविस र नगरपालिकामा प्रत्यायोजित हुन्छ । नागरिकको आधिकारिक विवरणको रेकर्ड राखी नागरिकता प्रमाणपत्र तथा राहदानी वितरण गर्नु जिल्ला प्रशासन कार्यालयको अर्को एक महत्त्वपूर्ण काम हो । जिल्ला प्रशासन कार्यालयको प्रमुखमा प्रमुख जिल्ला अधिकारी रहन्छन् । प्रमुख जिल्ला अधिकारी जिल्लाभरका सरकारी कर्मचारीहरूका प्रमुखहरूका पनि प्रमुख रहन्छन् ।
जिल्लाको शान्ति सुरक्षा र अमन चयन कायम गर्ने ,राजनीतिक दलहरू तथा सुरक्षा निकायसँग समन्वय गर्ने, दैवी प्रकोप पीडितलाई तत्काल राहत पुर्याउने, संघसंस्था दर्ता एवंम् नवीकरण गर्ने ,आफ्नो अधिकार क्षेत्र भित्रका मुद्दाहरूको निर्णय गर्ने जनगुनासो सुन्ने र कारबाही गर्ने, विकास निर्माण कार्यको अनुगमन गर्ने, ढिलासुस्ती र भ्रष्टाचारलाई नियन्त्रण गरी सुशासनको अनुभूति गराउने जस्ता काम गर्ने कार्यालय पनि यही हो ।
जिल्ला प्रशासन कार्यालयको कार्यभार सम्हाल्ने मान्छे असल भयो भने आम जनताले सेवाको प्रत्याभूति गर्न पाउँछन् । लामो समयदेखि निजामती सेवामार्फत आम जनतालाई स्थायी सरकारको प्रत्याभूति दिलाउने काम गरिरहेका राष्ट्रसेवकको नाम हो औलाख बहादुर आले । आले हाल दोलखा जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी रहेर निजामती कर्मचारीले गर्ने कामका रूपमा एक उदाहरण बनिरहेका छन् ।
खोटाङको विकट गाउँमा जन्मेर केही समय गाउँको हावापानीमा रमेका आलेका दाइ प्रहरी सेवामा रहेकाले आफू सर्लाहीमा कार्यरत रहँदा उनलाई पनि थप अध्ययनका लागि सर्लाही लिएर गएका थिए । उनको पढाइ र बढाइ दुवै दाइको क्षत्र छायाँमा सर्लाहीमै बित्यो ।
दाइकै सुझाव लिएर उनी निजामती सेवामा लागेका हुन् । उनले वि.सं २०४३ सालमा एसएलसी सकेपछि उनी लोक सेवाको अध्ययनमा व्यस्त भए । ०४५ सालमा जलेश्वर कार्यालयबाट मुखिया पदमा नाम निकाले । सोही साल उनले खरिदारमा पनि नाम निकालेर दोलखा आए ।
त्यसपछि उनले ५४ सालमा नायब सुब्बा उत्तीर्ण गरेपछि उनको पहिलो पोस्टिङ काठमाडौंको सुन्धारा जिपियोमा भएको थियो । करिब १३ वर्षपछि २०६७ सालमा उनको अधिकृतमा बढुवा भएको थियो । अधिकृतमा बढुवा भएपछि उनको पहिलो पोस्टिङ दोलखा जिल्ला कारागारमा भएको थियो । १२ वर्ष सम्म अधिकृत भएर देशका विभिन्न स्थानमा काम गरेपछि उनी २०७९ सालमा उपसचिवमा बढुवा भए ।
उपसचिवमा बढुवा भएपछि उनको पोस्टिङ फतुवाबिजयपुर नगरपालिका रौतहट भएको थियो तर स्थानीय सरकारमा काम गरेको अनुभव उनीसँग खासै नभएका कारणले उनी दोलखाको सहायक प्रमुख जिल्ला अधिकारी भएर गए । आले नेपाल निजामती कर्मचारी संगठनको ४ पटक जिल्ला कार्य समितिको अध्यक्ष र २ पटक केन्द्रीय सदस्य समेत भएका थिए ।
कर्मचारीतन्त्र प्रतिको धारणा
कर्मचारीतन्त्रलाई जहाँ पनि स्थायी सरकारको रूपमा चिन्ने गरिन्छ । चाहे त्यो पुस्तौँ अगाडिको होस् वा विकसित समाजको । कर्मचारीहरू जनताका सेवक पनि हुन् भन्ने धारण उनको रहेको छ । तर समाज जति विकसित हुँदै गएको छ कर्मचारीहरू पनि सेवक नभएर मालिकको रूपमा आफूलाई सोच्ने गरेकाले कर्मचारीतन्त्रमा धेरै आरोप लाग्न थालेको पाइन्छ ।
जनताको नजरमा कर्मचारीतन्त्र केवल कामचोर पवृतिको थलोका रूपमा स्थापित हुँदै गएको अवस्थामा यसलाई अन्त्य गर्ने जिम्मा पनि कर्मचारीहरूकै भएको उनी बताउँछन् । पञ्चायत कालमा कर्मचारीहरू आफूलाई शासक सोच्ने गरे पनि प्रजातन्त्र आएपछि जनतामा पनि यसको काम कर्तव्य र अधिकारको ज्ञान आउन थाल्यो र त्यसले कर्मचारीतन्त्रमा केही सुधार आएको पाइन्छ तर पुर्ण रूपमा जनताले खोजेजस्तो अझै भइसकेको छैन ।
सरकारको तलब सुविधा कत्तिको जायज
वैज्ञानिक तवरबाट हेर्ने हो भने यो समयमा सरकारको तलब सुविधा थोरै कम देखिन्छ । तर समग्र देशको अर्थतन्त्रले सबै निकायको चालु खर्च र पुँजीगत खर्च निर्धारण हुने गर्छ । यसका बावजुत एउटा कर्मचारी यस क्षेत्रमा लाग्दा ऊ पैसा कमाउने सेवा भाव लिएर छिरेको हुँदैन । ऊ आम जनताको सेवा गर्छु भन्ने भावले छिरेको हुन्छ । तसर्थ देशको कुनै पनि निकायमा बसेर कुनै पनि कर्मचारीलाई अनैतिक काम गर्ने छुट हुन सक्दैन ।
सरकारले आफ्नो क्षमता अनुसार तलब र सुविधा दिने हो । यस तलब सुविधाले सामान्य जीवन यापन गर्न भने अवश्य पुग्छ त्यसैले सबै कर्मचारीले सामान्य जीवन यापन गर्न जरुरी रहेको छ ।
निजामती क्षेत्रमा आउन चाहनेलाई सुझाव
पहिलो कुरा प्रत्येक साल नेपालमा निजामती क्षेत्रमा कोटा खुल्छ । देशबाट करिब ४ लाख भन्दा धेरै जनशक्ति उत्पादन हुन्छ तर निजामती सेवामा एकदम थोरै कोटा खुल्छ । यसमा अत्यधिक धेरै प्रतिस्पर्धा हुन्छ र त्यसबाट सबै जना यस क्षेत्रमा आउन सक्दैनन् ।
देशमा रोजगारीको अवसर एकदम सीमित छ । अहिले आफ्नो बारी बाझो राखेर बिदेसिनेको लर्को छ । विदेशमा गएर जस्तो पनि काम गर्न तयार हुने तर नेपालमा काम गर्न लाज मान्ने परिपाटिको अन्त्य गर्नुपर्छ । निजामती सेवाबाट मात्र होइन अन्य पेसा गरेर पनि देशको सेवा गर्न सकिन्छ भन्ने कुरामा उनको जोड छ । देशमा रोजगारीको अवसर कम छ तर देश बनाउने जिम्मा हामी सबैको हो । सबै निजामती सेवामा आउन प्रतिस्पर्धा भन्दा पनि आ–आफ्नो क्षेत्रबाट मुलुक समृद्ध बनाउन योगदान दिनुपर्छ ।