सुर्खेत । कर्णाली प्रदेशमा कर्मचारी सञ्चय कोषको सेवा सहज हुँदै गएको छ ।
कोषको सेवा यसअघि भाडाको घरबाट सञ्चालन हुँदै आएकोमा अबदेखि कोषले आफ्नै स्वामित्वको भवनबाट सेवा दिन सुरु गरेको छ ।
६ करोड ७२ लाख ३४ हजार लागतमा निर्माण भएको सुविधासम्पन्न भवन आज कोषका सञ्चालक समिति अध्यक्ष एवं राजस्व सचिव डा. रामप्रसाद घिमिरेले उद्घाटन गरेपछि सेवा प्रवाह थप प्रभावकारी हुने विश्वास लिइएको हो ।
अध्यक्ष घिमिरेले संघीय संरचनाअनुसार कार्यालय भवन निर्माण भएको भन्दै संघीयता कार्यान्वयनमा पनि बल पुग्ने बताए । कर्मचारीप्रति समाजमा गलत भाष्य निर्माण हुन थालेको भन्दै त्यसलाई चिर्ने गरी काम गर्नुपर्नेमा उनको जोड थियो ।
‘समाजमा गलत भाष्य निर्माण भएको छ,’ उनले भने, ‘कर्मचारीले सबै बिगारे भन्ने छ । त्यसलाई चिर्ने गरी काम गर्नुपर्छ । मानिस कुराले होइन, कामले ठूलो हुन्छ ।’
कोषका बचत देशको पूर्वाधार विकासको क्षेत्रमा उपयोग गरेर आर्थिक विकासमा योगदान गर्नुपर्ने डा. घिमिरेले बताए । उनले कोषको सेवा अझै प्रभावकारी तुल्याउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रशासक जितेन्द्र धितालले सञ्चय कोषको सेवालाई अझै राम्रो बनाउनुपर्नेमा जोड दिँदै कर्णालीको विकासमा सञ्चय कोष आधार बन्न सक्ने उल्लेख गरे । कर्मचारी युनियनका प्रतिनिधि धर्मराज ढुंगानाले सञ्चय कोषलाई सहकारी र सहमतिका रूपमा अघि बढाउनुपर्ने धारणा राखेका छन् ।
सञ्चय कोष शाखा कार्यालय सुर्खेतका प्रमुख रविकान्त तामाङले अब नयाँ भवनबाट दिइने सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
सञ्चय कोषले विक्रम संवत् २०६२ सालदेखि सुर्खेतबाट सेवा दिन थालेको हो । अहिलेसम्म भाडाको घरबाट सेवा दिइरहेको कोषले विक्रम संवत् २०६९ असार २९ गते १ करोड २२ लाख १० हजारमा ११ कठ्ठा २ धुर जमिन सुर्खेत उपत्यका नगर विकास समितिबाट खरिद गरिएको थियो ।
शाखा कार्यालय भवन निर्माणको लागि ८ करोड ७ लाख ९७ हजार ६९४ लाग्ने गरी लागत स्वीकृत गरी विक्रम संवत् २०७७ असार १६ गतेदेखि निर्माण सुरु भएको थियो ।