चन्द्रपुर (रौतहट) । रौतहटको मौलापुरमा गत शुक्रवार आमा छोरीको रहस्यमय मृत्युका सम्बन्धमा रौतहट प्रहरीले अनुसन्धान गरिरहेको छ ।
मौलापुर नगरपालिका–४ पतौरा गाउँकी २४ वर्षीया कविता देवी र उनकी दुई वर्षीया छोरी आरुही शुक्रवार राति घरमै मृतावस्थामा शव फेला परेका थिए ।
आरुहीको शव पङ्खामा झुन्डिएको तथा कविताको शव घरबाट बाहिरिने सिँढीमुनि फेला परेको प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक उमाशङ्कर प्रसाद यादवले बताए ।
उनका अनुसार मृतक कविताका पति नरेन्द्र साह र ससुरा नागेन्द्र साह घटनापछि फरार छन् । कविताकी सासू र जेठानीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
कविताको माइती पक्षले दाइजोको निहुँमा उनको हत्या गरिएको आरोप लगाएको छ । उनको माइतीघर माधवनारायण नगरपालिका-५ मिठुअवा गाउँ हो ।
कविताका बुबा विजय शङ्कर साहले घटना थाहा पाउनसाथ आफू छोरीको घर गएको तर आफूले छोरी र नातिनीको शव हेर्नसमेत धेरै बेरपछि पाएको बताए ।
उनका अनुसार छोरी र ज्वाइँबीच पटक पटक विवाद हुने गरेको थियो । ‘बेलाबेलामा कविताले ज्वाइँ नरेन्द्र साहले नगद, पलङ, सुनको र्आँठी र सिक्री माग्ने गरेको बताएकी थिइन् ।
दाइजो नल्याएका कारण छोरी र नातिनीको हत्या गरिएको हो’, साहको आरोप छ । हालसम्म घटनाको मुचुल्का तयार गर्ने काम भइरहेको र माइती पक्षले कुनै जाहेरी नदिएको रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढाले बताए ।