नरैनापुरका भूमिहीनलाई पुर्जा वितरण सुरु

नरैनापुरका भूमिहीनलाई पुर्जा वितरण सुरु

खजुरा । बाँकेको नरैनापुर गाउँपालिकाको गाउँ ब्लक (घरबास मिनाह) मा रहेका पुर्जाविहीनलाई जग्गा धनी प्रमाण पुर्जा वितरण सुरु गरिएको छ । 

नरैनापुर गाउँपालिका-४ स्थित गाउँब्लकका ७७ घर परिवारलाई पहिलो चरणमा जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले जानकारी दिए । 

उनका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को भदौमा गोश्वारा नापी कार्यालय टोली नं. १ ले गरेको नापी र सर्वेक्षणअनुसार वडा नंं. ४ का करिब पाँच सयको गाउँ ब्लकको जग्गा धनी पुर्जा तयार पारिएको छ । 

नरैनापुर गाउँपालिकामा रहेका छ वटै वडामा पुर्जाविहीनलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिने मिश्रले बताए । उनले छ वटै वडामा करिब दुई हजार पाँच सय बढीलाई पुर्जा वितरण गर्ने तयारी भइरहेको जानकारी दिए । 

मिश्रले भने, ‘अहिले वडा नं. ४ का ७७ जनालाई मात्र वितरण गरिएको छ, यस वडाका बाँकी चार सय बढीलाई पुर्जा वितरणको तयारी गरिएको छ ।’ अन्य वडामा पनि क्रमशः जग्गाधनी पुर्जा वितरण गरिने कार्यक्रम रहेको उनले बताए । 

नापी कार्यालयबाट सर्भे र नापी भइसकेका गाउँ ब्लकको जग्गाको प्रमाण पुर्जा बनाएर वितरणको अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष इश्त्यिाक अहमद शाहले बताए । “नापी हुन बाँकी गाउँ ब्लकको नापी प्रक्रिया अघि बढेको छ । जग्गा नभएका सबैले पुर्जा प्राप्त गर्नेछन्”, उनले भने ।