फिक्कल । इलामको एक स्थानीय तहले ज्येष्ठ नागरिकलाई समेत पोसाक भत्ता उपलब्ध गराउँदै आएको छ ।
जिल्लाको देउमाई नगरपालिकाले नगरभित्रका ७० वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई रु. दुई हजारका दरले पोसाक भत्ता उपलब्ध गराउँदै आएको हो । उनीहरूलाई नगरपालिकाले प्रत्येक पहिलो त्रैमासिकमै पोसाक भत्ता उपलब्ध गराउँदै आएको लेखा अधिकृत गजेन्द्र येक्तनले जानकारी दिए ।
चालु आर्थिक वर्षमा नगरभित्र स्थायीरुपमा बसोबास गर्ने एक हजार सात सय ५४ ज्येष्ठ नागरिकले पोसाक भत्ता पाएका छन् । उनीहरूले यस वर्ष मात्र ३५ लाख आठ हजार पोसाक भत्ता प्राप्त गरेको उनले बताए ।
गएको आव २०७९/०८० मा एक हजार पाँच सय ७६ जना ज्येष्ठ नागरिकले रु. ३१ लाख ५२ हजार पोसाक भत्ता लिएका थिए । ज्येष्ठ नागरिकले वर्षमा एक पटक न्यानो नयाँ लुगा लगाउन् भन्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको नगरप्रमुख सूर्य पोख्रेलले बताए ।
“शिक्षक, तथा सरकारी निकायका कर्मचारीलाई नेपाल सरकारले वर्षमा एक पटक पोसाक भत्ता दिन्छ, तर ज्येष्ठ नागरिकलाई दिँदैन”, नगर प्रमुख पोख्रेलले भने, “ज्येष्ठ नागरिकलाई पनि चाडबाडमा नयाँ लुगा लगाउन मन लाग्छ । यसर्थ वर्षमा एक पटक नयाँ न्यानो लुगा लगाउन् भनेर नगरले यस्तो कार्यक्रम सुरु गरेको हो ।”
पोसाक भत्ता पाउनका लागि देउमाई नगरभित्र स्थायी बसोबास भएको ज्येष्ठ नागरिक हुनुपर्छ । नगरपालिकाले ज्येष्ठ नागरिकलाई पोसाकका लागि चालु आवमा ३६ लाख विनियोजन गरेको थियो ।
दीर्घ रोगीलाई औषधि खर्च
यसैगरी उक्त नगरपालिकाले दीर्घ रोगीलाई औषधि खर्चबापत वार्षिक पाँच हजार पनि उपलब्ध गराउँदै आएको छ । गत वर्ष नगरपालिकाले ४० दीर्घ रोगीलाई दुई लाख उपलब्ध गराएको थियो ।
चालु आवको पहिलो त्रैमासिकमा ११ दीर्घ रोगीले ५५ हजार प्राप्त गरेको लेखा अधिकृत येक्तेनले जानकारी दिए ।