बेनी–जोमसोम सडक अवरुद्ध

बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी । जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक अवरुद्ध बनेको छ । 

म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ बैसरी र अन्नपूर्ण गाउँपालिका-२ भुरुङ-तातोपानीमा खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडकमा आज बिहानदेखि सिधा यातायात सेवा अवरुद्ध बनेको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेन्द्र पौडेलले सडक अवरुद्ध हुँदा बेनीबाट मुस्ताङतर्फ र मुस्ताङबाट म्याग्दी हुँदै देशका विभिन्न ठाउँमा जान हिँडेका सवारीसाधनबीच बाटोमै रोकिएको बताए ।

उनका अनुसार बेनी नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सिमानामा पर्ने फापर खेतको घुमाउने भिरमा खसेको पहिरोका कारण बेनी–दरबाङ सडक पनि अवरुद्ध बनेको छ ।

बेनी–दरबाङ म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने सडक हो । 

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले निरन्तरको झरी र पहिरो नरोकिएकाले सडक खुलाउन समस्या भएको बताए । 

आयोजना र निर्माण कम्पनीका उपकरण परिचालन गरिए पनि निरन्तरको झरी र पहिरो खसिरहने भएकाले समस्या भएको शेरचनले बताए ।