स्याङ्जा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मुलुकको परिवर्तनका लागि जनता जाग्नुपर्ने बेला आएको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी वालिङ नगर समितिले आज शुक्रबार स्याङ्जाको वालिङमा आयोजना गरेको खुलासभालाई सम्बोधन गर्दै उनले जनता जागेपछि मात्रै परिवर्तन सम्भव हुने बताए ।
देशमा भ्रष्टाचार, कुशासन, तस्करी, विभेदको अँध्यारो मौलाउँदै गएकाले त्यसलाई चिर्नका लागि पनि जनतामा परिवर्तन हुनु जरुरी रहेको उनको भनाइ थियो ।
‘देशको अवस्था जटिल बन्दै गयो भन्ने चिन्ता नागरिकमा छ, देशमा परिवर्तन हुनुपर्छ भन्ने सोचमा हुनुहुन्छ,’ उनले भने, ‘विभिन्न क्षेत्रसँग सम्बन्धित विज्ञहरूको समन्वय र सहकार्यमा पार्टीले नीति तथा योजना बनाइरहेको छ । हामी बोलेरभन्दा काम गरेर देखाउँछौं, योजनाबद्ध तरिकाले अगाडि बढ्छौं, ढुक्क हुनुहोस् ।’
हरेक क्षेत्रमा भएका भ्रष्टाचार, बेथिति, कुरीतिको अन्त्यका लागि पार्टी निरन्तररूपमा लाग्ने उनले बताए । भ्रष्ट नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने मुद्दालाई पार्टीको प्राथमिकताका साथ उठाएको र पार्टीभित्र कोही कसैले भ्रष्टाचार गरेको पाइएमा तत्कालै कारबाही गर्ने पनि बताए ।