काठमाडौं । भारतको केरलामा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट १ जनाको मृत्यु भएको र २६५ जनामा नयाँ संक्रमण देखिएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बताएको छ ।
भारतमा कोभिड–१९ का कूल सक्रिय संक्रमितको संख्या २ हजार ९९७ पुगेको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार भारतमा ५९४ ताजा कोभिड–१९ संक्रमित रहेका थिए । सक्रिय संक्रमितको संख्या बिहीबार २ हजार ३११ बाट बढेर २ हजार ६६९ पुगेको थियो ।
कोरोना भाइरसको नयाँ भेरिएन्ट देखा पर्न थालेसँगै बढ्दो चिन्ताबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का पूर्व प्रमुख वैज्ञानिक डा. सौम्या स्वामीनाथनले यो चासोको नभई चिन्ताको विषय भएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताए । उनले सावधानी अपनाएर सचेत भने रहनुपर्ने बताए ।
‘हामीले सावधानी अपनाउन आवश्यक छ तर यो भेरिएन्ट जेएन.१ गम्भीर छ वा मृत्युको कारक बन्न सक्छ भन्नेबारेमा सुझाव दिनका लागि कुनै तथ्यांक नभएकाले चिन्ता गर्न आवश्यक छैन,’ उनले भने, ‘हामीले यसअघिको जस्तै सामान्य रोकथामका उपाय अपनाउने प्रयास गर्नुपर्छ भन्ने मलाई लागेको छ, हामी ओमिक्रोनसँग परिचित थियौं, यो एउटै परिवारको भेरिएन्ट हो, त्यसैले धेरै परिवर्तन भएको छैन तर केही नयाँ परिवर्तन आएको छ । यसमाथि डब्ल्यूएचओले ध्यान दिन आवश्यक छ ।’
डब्ल्यूएचओले हालै जेएन.१ लाई चासोको एक प्रकारका रूपमा वर्गीकरण गरेको छ, यो यसको मूल वंश बिए.२.८६ भन्दा भिन्न छ । यद्यपि उसले हालका प्रमाणका आधारमा जेएन.१ ले उत्पन्न गर्ने समग्र जोखिम कम भएको बताएको छ ।