म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रले समयमा विद्युत् महसुल नतिर्ने १७७ ग्राहकको लाइन काटेको छ ।
प्राधिकरणको देशव्यापी बक्यौता असुली अभियानअन्तर्गत साउन महिनायता म्याग्दीमा ग्राहकको लाइन काटिएको हो ।
केन्द्रका प्रमुख प्रताप बरालले लाइन काटेर चालू आर्थिक वर्षको ५ महिनामा १८ लाख १२ हजार ४५० बक्यौता असुल गरिएको जानकारी दिए ।
१७७ ग्राहकबाट २२ लाख २ हजार १९६ महसुल बक्यौता उठाउनुपर्ने थियो । लाइन काटेपछि १ लाख ४९ हजार ४४९ जडान शुल्क उठेको छ ।
केन्द्रअन्तर्गतका ग्राहकबाट ८१ लाख ८७ हजार ९२९ बक्यौता असुल गर्न बाँकी छ । गत कात्तिक १२ गतेदेखि बक्यौता असुली अभियान सञ्चालन भएको थियो ।
यसैगरी बिजुली चोरी गरेका ४ ग्राहकबाट १ लाख ३५ हजार १५६ रकम असुल भएको छ । नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रअन्तर्गत हाल २२ हजार १३० ग्राहक छन् ।
विद्युत् महसुल संकलन विनियमावली २०७८ बमोजिम मिटर रिडिङ भएको १६औं दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औं दिनदेखि ३०औं दिनसम्म ५ प्रतिशतका दरले र ३१औं दिनदेखि ४०औं दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ । मिटर रिडिङ भएको मितिले ४०औं दिनसम्म पनि विद्युत् महसुल नबुझाउने उपभोक्तालाई ४१औं दिनदेखि बिलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ ।
यसरी २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६०औं दिनसम्म पनि बक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ । लाइन काटेको ६ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्तालाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान छ ।
विनियमावलीको प्रावधानका आधारमा मिटर रिडिङ भएको मितिले ६०औं दिनसम्म पनि बक्यौता विद्युत् महसुल भुक्तानी नगर्ने उपभोक्ताहरूको चरणबद्ध रूपमा विद्युत् लाइन काटी बक्यौता महसुल असुलउपर गर्ने रणनीति लिएको प्राधिकरणले जनाएको छ ।