विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १ वर्षको अनवरत प्रयासपछि अर्थतन्त्रका अधिकांश सूचकमा राम्रो प्रगति देखिएको बताएका छन् ।
मोरङ व्यापार संघद्वारा आयोजित उद्योग व्यापार मेला (एक्स्पो २०२३)को आज शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित सरकार अगाडि बढिरहेको बताए ।
उनले अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्दै समृद्धिको यात्रालाई गति दिन सरकार निरन्तर क्रियाशील रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘जतिबेला मैले सरकारको नेतृत्व लिएको थिएँ, त्यतिबेला देशको अर्थतन्त्र निकै अप्ठ्यारो परिस्थितिमा रहेको थियो । १ वर्षको अनवरत प्रयास र निजी क्षेत्रको सहयोगमा अर्थतन्त्रमा क्रमशः सुधार आइरहेको र महंगी नियन्त्रणका दृष्टिले यतिबेला देश २ वर्षयताकै प्रगतिमा रहेको छ ।’
वार्षिक औसत महंगीदर ७ दशमलव ११ प्रतिशत रहेकामा अघिल्लो महिना त्यसमा कमी आएर ५ दशमलव ३८ प्रतिशतमा झरेको जानकारी दिँदै उनले भुक्तानी सन्तुलनका दृष्टिले समेत राम्रो प्रगति हुँदै गएको र निर्माण व्यवसायीहरूको भुक्तानी गर्न बाँकी रकम भुक्तानीको प्रक्रिया अगाडि बढेको बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘निर्माण व्यवसायीहरूले भुक्तानी पाएसँगै अर्थतन्त्र चलायमान हुनेछ भने अर्कातर्फ नयाँ आयोजनाको निर्माण प्रक्रियाले गति लिनेछ । अर्थतन्त्र सुधारका दृष्टिले यो आफैंमा महत्त्वपूर्ण पहल हो ।’
निजी क्षेत्रको प्रतिनिधि संस्था मोरङ व्यापार संघले विगतका वर्षहरूमा समेत राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका मेला, महोत्सवको आयोजना गरी यस क्षेत्रको उत्पादनमा प्रोत्साहन, व्यापार प्रवर्द्धन एवं अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको चर्चा गर्दै प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्र चलायमान गराउन प्रदेशका कृषिजन्य वस्तु प्रवद्र्धन एवं स्वदेशी उत्पादनमा बढावा दिनुपर्ने बताए ।
उनले प्रदेशका पर्यटकीय एवं धार्मिक गन्तव्यको प्रचार–प्रसार लगायत कैयौ प्रवर्द्धनात्मक कार्यहरूका निम्ति यस्ता मेलाले सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् ।