बर्दिया । चलचित्र 'ह्यासट्याग माया' (३माया) को छायांकन बर्दियाबाट सुरु भएको छ । लुम्बिनी प्रदेशको बर्दिया राष्ट्रिय निकुञ्जमा पहिलो दिन केही दृश्यलाई खिच्दै चलचित्रको छायांकन सुरु गरिएको हो ।
थ्रिलर विधामा निर्माण हुने चलचित्रको बर्दिया सेड्युल चौध दिनको तय गरिएको छ । चलचित्रको छायांकन बर्दियाकै आसपासमा गरिने कार्यकारी निर्माता अनुप पौडेलले जानकारी दिए ।
'नेपालको सुन्दरतालाई पर्दामा ल्याउने कोसिस हाम्रो रहनेछ । यसका साथै बर्दियाको सेटअप पात्रलाई सुहाउँदो पनि छ । यहाँ दुई साता छायांकन गर्ने सेड्युल तय गरेका छौँ', अनुपले भने ।
यसै चलचित्रमार्फत निर्देशनमा डेब्यु गरेका निर्देशक राजिव गुरुङले पहिलो दिनको काम राम्रो भएको बताए ।
'हामीले तय गरेको सेड्युलअनुसार नै काम भइरहेको छ । थ्रिलरमा मनोरञ्जक चलचित्र तयार हुनेछ । हामी प्रस्तुतिसँगै अन्य विषयमा ध्यान दिइरहेका छौँ', निर्देशक गुरुङले भने ।
चलचित्रमा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिकेलगायतको अभिनय रहेको छ ।



























