काठमाडौं । नेपालस्थित जापानी राजदूतावासले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) एल्मुनाई एशोसिएशन अफ नेपाल (जान)लाई सम्मानपत्र हस्तान्तरण गरेको छ ।
आज शुक्रबार आयोजित विशेष समारोहमा नेपालका लागि जापानी राजदूत किकुता युताकाले जापानी विदेशमन्त्रीद्वारा उपलब्ध गराइएको प्रशंसापत्र जानका अध्यक्ष डा. रामचन्द्र भुसाललाई हस्तान्तरण गरे ।
सो अवसरमा राजदूत युताकाले नेपाल–जापानबीच मित्रवत र प्रगाढ सम्बन्ध रहेको बताए । उनले जापान र नेपालबीच सहयोग र सम्बन्धका विविध आयामबारे प्रकाश पार्दै जानले २ देशबीचको सम्बन्ध विस्तारमा सेतुको काम गरिरहेको विचार प्रकट गरे ।
जान नेपालबाट जापानमा जाइकाका कार्यक्रममार्फत अध्ययन, भ्रमण, तालिम लिई फर्केका विभिन्न विधाका व्यक्ति सम्मिलित संस्था हो । विगत ५० वर्षदेखि नेपाल र जापानबीचको सम्बन्धमा पुलका रूपमा काम गर्दै आएको जानले जापानको प्रविधि नेपालमा भित्र्याउने, मित्रता बढाउने, अप्ठ्यारोमा सहयोग आदान–प्रदान गर्ने कार्यमा योगदान पुर्याउँदै आएको छ ।
जापान सरकारले त्यस कार्यको मूल्यांकन गर्दै जानबाट उल्लेखनीय योगदान भएको जनाउँदै प्रशंसापत्र उपलब्ध गराएको हो । समारोहमा जानका अध्यक्ष डा. भुसालले ५० वर्षअघि जाइका कार्यक्रममार्फत अध्ययन र तालिममा गएका अग्रजले नेपाल–जापानबीचको मित्रतालाई प्रगाढ तुल्याउने, प्रविधि हस्तान्तरण र सहयोग अभिवृद्धि गर्ने मुख्य उद्देश्यका साथ सामाजिक संस्थाका रूपमा जान स्थापना गरिएको बताए ।
संस्थामा नेपालका सरकारी निकायका उच्च तहमा रहेकासहित १ हजार २०० सदस्य रहेको जानका आजीवन सदस्यको संख्या ६०० भन्दा बढी रहेको जनाइएको छ ।
सन् १९७३ मा स्थापना भएको संस्थाको ५०औं स्वर्ण महोत्सवका अवसरमा प्रशंसापत्र हस्तान्तरण कार्यक्रम भएको हो । विश्वमा जापानसँग जोडिएका यस्ता संस्थाको संख्या १०० भन्दा बढी छ । संस्थाको ३ कार्यकालदेखि डा. भुसाल अध्यक्षको जिम्मेवारीमा छन् ।
समारोहमा विभिन्न संवैधानिक आयोगका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, सुरक्षा निकायका उच्च अधिकृत र समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिको सहभागिता थियो ।