पाँचथर । ५ वटा खेतमा फलेको १६८ मुरी धान जोख्ने काम सकिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीय, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो । गलामा माला लगाएका मकरबहादुर अतिथिको सत्कारमै व्यस्त थिए ।
सबैलाई एकछिन बस्न र चिया खाएर जान आग्रह गर्दैमा मकरबहादुरको समय बितिरहेको थियो । भान्सामा चिया र नास्ता पाक्दै थियो ।
मकरबहादुरको घरको आँगनमा मकैको थांग्रो पनि बडेमानकै थियो । घर वरिपरि कोदो टन्न फलेको थियो । टिप्ने समय बित्नै लागेको छ । फाल्गुनन्द–१ का वडाध्यक्ष होमप्रसाद आङदेम्बेसहित जनप्रतिनिधि र कर्मचारी सिकुवाको डिलमा बसेर ५६ वर्षीय मकरबहादुर र उनकी पत्नी ६० वर्षीया टीकामायाको मेहनतको प्रशंसा गरिरहेका थिए ।
फाल्गुनन्द गाउँपालिकाले खाद्यबालीको उत्पादन बढाउन ५० मुरीभन्दा बढी धान फलाउने किसानलाई ३० हजार र १०० मुरीभन्दा बढी धान फलाउने किसानलाई ५० हजारबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो । घोषणापछि मकरबहादुर गाउँपालिकाको कार्यालय पुगेका थिए । उनले आफूले १०० मुरीभन्दा बढी धान फलाएको गाउँपालिका कार्यालयमा दाबी गरे ।
मकरबहादुरको दाबीपछि बुधबार जनप्रतिनिधि र कर्मचारी उनको घर पुगेका थिए ।
मकरबहादुरले निबु खोलाको बेंसी र घर छेउको पाखाबारीमा फलाएको धान १६८ मुरी प्रमाणित भएपछि उनी औंधी खुशी भए । मकरबहादुर दम्पतीले फाल्गुनन्द–७ को सिस्ने, काब्रेती, घरमुनी, करमबोटे र खोल्साइले गरी ५ वटा खेतमा ३ मुरी ४ पाथी बीउ रोपेका थिए । बीउबाट फलेकोमध्ये ३० मुरी धान उनले यसअघि नै बिक्री गरिसकेको बताए । त्यसैले उनले फलाएको धान १६८ मुरी मात्र गणना भयो ।
फाल्गुनन्द गाउँपालिकाको प्रशासन शाखाका प्रमुख निर्मल अधिकारीका अनुसार बम्जन परिवारले फाल्गुनन्दमा सबैभन्दा बढी धान फलाएको प्रमाणित भएको छ । मकरबहादुरले फाल्गुनन्दका इन्द्रनारायण आङ्देम्बे, कालीदास चेम्जोङ, कर्ण चेम्जोङ, पञ्चबहादुर चेम्जोङ र भीमबहादुर आङदेम्बेको खेतमा खेती लगाउने गरेको बताए ।
गत मंसिर ७ गते ३० मुरी धान बिक्री गरिसकेपछि मात्रै धेरै धान फलाउनेलाई पुरस्कृत गर्न लागिएको थाहा पाएका थिए ।
‘वडाध्यक्षले खबर गरेपछि गत मंसिर १३ गते गाउँपालिकामा गएर १८५ मुरी धान फलाएको जानकारी गराएको थिएँ,’ मकरबहादुरले भने । विगतमा अन्नको अभावमा पाएको दुःख सम्झेर धान फलाउन कम्मर कसेर लागेको उनको भनाइ छ ।
‘विक्रम संवत् २०५६ सालमा म सगोलको परिवारबाट छुट्टिँदा निकै दुःख पाएँ, २ पाथी धान लुकाएँ । त्यतिबेला मेरो ५ जनाको परिवार थियो,’ उनले भने, ‘मेरो नाममा २ रोपनी जग्गा छ । यसको उब्जनीले नपुगेपछि ५ जनाको जग्गामा खेती गर्दै आएका छौं । ३० मुरीभन्दा कम धान फल्ने कुनै खेत छैन ।’
मकरबहादुरले ती खेत बन्धकी, कुत र अधियाँमा लिएका छन् । उनले मकैका लागि पाखो बारी अधियाँमा लिएका छन् ।
किसानलाई प्रोत्साहन गर्न पुरस्कृत गर्ने गाउँपालिकाको सूचना पाएपछि मकरबहादुरले धानका खलाखलामै कर्मचारीलाई बोलाएका थिए तर सबै धान भेला पारेर जोख्न मन लागेपछि घर छेउको खेतको खलामा सबै धान जम्मा गरे । ‘धान जम्मा गर्न ७ हजार खर्च भयो । धान झारे पनि पराल दाइँ गर्न भ्याएकै छैन,’ उनले भने । बम्जन दम्पतीका ३ छोरा झापाको दमकमा बसोबास गर्छन् भने ३ छोरी विवाह गरेर गइसकेका छन् तर धान फलाउन बम्जन दम्पतीले छरछिमेकीको साथ पाइरहेका छन् ।
‘दुःख नभई सुख हुँदैन रहेछ । साथीभाइले मैले भनेको टार्दैनन्, नाइँ भन्दैनन्,’ मकरबहादुरले भने । विक्रम संवत् २०६० सालदेखि धान खेतीमा लागिपरेको उनी बताउँछन् । पाखा खेतमा पानीको समस्या भए पनि निबु खोलाको बेंसीमा समस्या नरहेको उनले बताए । मकरबहादुर गाउँपालिकाले ५० हजार रुपैयाँ पुरस्कार दिएपछि ठूलो भैंसी किन्ने सोचमा छन् ।