म्याग्दी । पूर्वपश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्य पहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडकको मार्ग खोल्न र स्तरोन्नति गर्ने आयोजना सञ्चालन भएको छ ।
संघीय सरकारमार्फत मार्ग खोल्ने र प्रदेश सरकारले स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेका हुन् ।
बेनीदेखि दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वी रुकुमको टकसेरा जोड्ने सडक निर्माण भएपछि मध्य पहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किलोमिटर दूरी छोटिने म्याग्दीको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । ‘बेनीदेखि मुना हुँदै खोरियासम्म ५० किलोमिटर सडकको स्तरोन्नति प्रदेश सरकारमार्फत र खोरियादेखि ढोरपाटनसम्म मार्ग खोल्ने काम संघीय सरकारले सँगै अघि बढाएको छ,’ उनले भने, ‘धवलागिरि गाउँपालिका–२ खोरियामा ३ वर्षअघि पुगेको सडकलाई जलजलासँग जोड्न १९ किलोमिटर सडकको मार्ग खोल्न यस वर्ष सडक डिभिजन कार्यालय बाग्लुङले ३ करोडको आयोजना अघि बढाएको छ ।’
पूूर्वाधार कार्यालयमार्फत २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडक कालोपत्र गर्न र ६ किलोमिटर दूरीको दरवाङ–धारापानी सडक ग्राभेल गर्न सञ्चालित आयोजना अन्तिम चरणमा पुगेको छ । गण्डकी प्रदेश सरकारले धारापानीदेखि ताकम हुँदै शिवाङ जोड्ने सडक कालोपत्र गर्न चालू आर्थिक वर्षमा २५ करोडको आयोजना ठेक्का लगाउन लागेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बताए । ‘म्याग्दीको रणनीतिक र मध्य पहाडी लोकमार्गको वैकल्पिक भएकाले बेनी–दरवाङ–मुना–जलजला ढोरपाटन सडकलाई प्राथमिकता दिएका छौं,’ उनले भने, ‘शिवाङदेखि मच्छिम हुँदै मुनासम्मको सडक कालोपत्र गर्न अर्को प्याकेजको आयोजना सुरु गर्छौं । मुना मरेनी हुँदै ढोरपाटन जोड्ने सडकलाई व्यवस्थित बनाउन संघीय सरकारमार्फत काम थालिएको छ ।’
दरवाङदेखि मुुना हुँदै मरेनी जोड्ने २६ किलोमिटर सडक कालोपत्र गर्न गाउँपालिकाले १ अर्ब बजेट अनुमान सहितको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर प्रदेश सरकारसँग प्रस्ताव गरेको छ । पूर्वी रुकुमको टकसेरादेखि ढोरपाटनको निसिलढोरसम्म ८ किलोमिटर सडकले जोडिन बाँकी छ । म्याग्दीका सरोकारवालाले खोरिया पुगेको सडकलाई ढोरपाटन हुँदै पूर्वी रुकुम जोडेर मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक मार्गका रूपमा सडकलाई प्रयोगमा ल्याउन लुम्बिनी प्रदेश र पूर्वी रुकुमका जनप्रतिनिधिसँग छलफल गरेका छन् ।
भौगोलिक रूपमा म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका बासिन्दा लाभान्वित हुने र दीर्घकालीन रूपमा राष्ट्रिय महत्त्व राख्ने सडकले धेरै वर्षको प्रयासपछि महत्त्व पाएको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए । ‘भू–बनोटको सहजता र दूरीको हिसाबले पनि मध्यमहाडी लोकमार्ग म्याग्दीबाटै विस्तार हुनुपर्ने हो,’ उनले भने, ‘पछिल्लो समय वैकल्पिक सडक बनाउन भएको पहलले सार्थकता पाउन थालेको छ ।’
सडक यातायातसँगै पर्यटन विकासका हिसाबले पनि यो मार्गको आवश्यकता देखिएको उपाध्यक्ष पुनले बताए ।
पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिएको सडक खण्डलाई अहिले निकै चासोका साथ हेरिएको छ । मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र पूर्वी रुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको सडकको बाँकी मार्ग खोल्ने, विस्तारसँगै मर्मत, स्तरोन्नति र कालोपत्रका लागि बजेटको व्यवस्थापन र योजना कार्यान्वयनमा सरोकारवालाको चासो बढेको छ ।