काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा उभिएकाले आफू नेतृत्वको पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेशको पहिलो सम्मेलन आज उद्घाटन गर्दै सभापति देउवाले भने, ‘राष्ट्र अहिले दोधारमा उभिएको छ, अहिलेको बेला सबैले मिलेर र खासगरी कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्न जरुरी रहेको छ ।’
पूर्व प्रधानमन्त्री देउवाले गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था महत्त्वपूर्ण भएको दाबी गर्दै यो व्यवस्था समावेशितामा आधारित व्यवस्था भएको बताए । उनले पार्टीलाई अझै सुदृढ गर्दै तल्लोस्तरबाटै पूर्ण रूपमा प्रतिबद्ध गराई बलियो बनाउन लाग्नुपर्ने बताए ।
कांग्रेस उपसभापति धनराज गुरुङले संसद् सञ्चालन हुन ढिलो भए अध्यादेशमार्फत संघीय निजामती ऐन ल्याउने बताए । उनले संघीय प्रहरी ऐन, संघीय कर्मचारी ऐन र शिक्षा विधेयक संसद् सञ्चालन हुन ढिलो भए अध्यादेशमार्फत ल्याउने स्पष्ट पारे ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री गुरुङले स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन छिट्टै संघीय कानूनहरू पारित गर्ने तयारीमा रहेको बताए । उनले कांग्रेसको आनीबानी र व्यवहारमा सुदृढ गर्न आवश्यक रहेको बताए ।
पार्टी महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसको प्रदेश सम्मेलन भइरहँदा हरेक ठाउँमा प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने माग उठेको भन्दै प्रदेश सरकारले राखेका माग पूरा गर्न पार्टी र सरकार लाग्नुपर्ने बताए । उनले कांग्रेस महासमिति बैठकसम्म अधिकार सम्पन्न बनाउने गरी कानून आएन भने महासमितिको बैठकबाट निर्णय गरेर कांग्रेसले सिंहदरबार घेर्ने बताए ।
कार्यक्रममा बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले केन्द्रले प्रदेशलाई अधिकार दिन कन्जुस्याइँ गरेको बताए । सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाका ६६ संघीय निर्वाचन क्षेत्रका करीब ७८२ जना प्रदेश प्रतिनिधि, बागमती प्रदेशका संघीय सांसद, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा क्षेत्रीय सभापति, नगरपालिका/गाउँपालिकामा निर्वाचित प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष तथा बागमती प्रदेशका ११९ पालिका सभापतिको सहभागिता थियो ।