गण्डकी । राष्ट्रियस्तरको ‘बुकी कप’ भलिबल प्रतियोगिता आईतबारदेखि बागलुङको गलकोटमा सुरु हुने भएको छ ।
पोखराको हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एण्ड फिल्मस्को आयोजनामा हुन लागेको प्रतियोगिताको सबै तयारी पूरा भएको जनाइएको छ ।
प्रतियोगितामा ३ विभागीयसहित ५ टीमको सहभागिता रहने प्रतियोगिताका संयोजक मोहन केसीले बताए । उनका अनुसार त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश र गलकोट नगरपालिकाको टीमले प्रतियोगितामा भाग लिनेछ ।
पहिलोपटक आयोजित प्रतियोगितामा प्रथम हुनेले नगद ५ लाख, दोस्रो हुनेले २ लाख ५० हजार र तेस्रो हुनेले १ लाख २५ हजार पुरस्कार पाउने संयोजक केसीले जानकारी दिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट टीम प्रशिक्षकलाई १० हजार, उत्कृष्ट सेटरलाई ६ हजार, उत्कृष्ट स्पाइकरलाई ६ हजार, उत्कृष्ट ब्लकरलाई ६ हजार, उत्कृष्ट डिफेन्डरलाई ६ हजार, उत्कृष्ट सर्भरलाई ६ हजार र म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई नगद २ हजार प्रदान गरिने संयोजक केसीले बताए ।
गलकोट नगरपालिका र गलकोट नगर खेलकुद विकास समितिसँगको समन्वय तथा नेपाल भलिबल संघ, गण्डकी प्रदेश भलिबल संघ, जिल्ला भलिबल संघ बागलुङ, गलकोट उद्योग वाणिज्य संघ र नगर भलिबल संघ गलकोटसँगको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाइ छ ।
प्रतियोगिता गलकोट नगरपालिका–६ मजुवाफाँटमा सञ्चालन हुनेछ । सोही अवसरमा सांगीतिक कार्यक्रम, नृत्य प्रतियोगिता ‘गलकोट डान्स आइडल’, रमाइलो मेला लगायत सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिता अवधिभर नेपाली संगीत क्षेत्रका विभिन्न कलाकारको प्रस्तुति रहने संयोजक केसीले उल्लेख गरे ।
‘धवलागिरि क्षेत्रमै पहिलोपटक सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुँदैछ, खेल पर्यटनका माध्यमबाट गलकोटलाई थप चिनाउन यो प्रतियोगिता सहयोगी बन्नेछ,’ उनले भने, ‘पहिलो दिनको खेलमा दर्शकलाई निःशुल्क प्रवेश दिइनेछ, त्यसपछिका खेल अवलोकनका लागि न्यूनतम टिकट शुल्क तोकेका छौं ।’
भलिबल प्रतियोगिता सहितको सांस्कृतिक कार्यक्रम पुस १५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।