खलंगा । शैल्यशिखर नगरपालिका-६ पनेबाज बजार छेउमा जस्तापाताले बार लगाएको एउटा सानो छाप्रो छ । त्यही छाप्रोमा बिहानदेखि साँझसम्म दैनिकजसो भेटिन्छन् ७० वर्षीय पदमे लुहार । उनी एक हातले घन र अर्को हातले पङ्खा घुमाइरहन्छन् ।
लुहार फलाम सिल्भर र तामाका विभिन्न भाँडाकुँडा बनाउँछन् । बुबाबाजेबाट भाँडाकुँडा बनाउन सिकेका उनले आरन व्यवसाय सञ्चालन गरेको ५२ वर्ष भयो । 'यसै पेसाबाट जसोतासो घरखर्च चल्दै आएको छ', लुहारले भने ।
आरन पेसा अपनाउँदै आका लुहार विगतमा निकै दुःख खेप्नु परेको बताउँछन् । केही वर्ष अघिसम्म फलामको काम गर्दा अन्न मात्र दिने गरेकामा पछिल्लो समय त्यसवापत उनले नगद पाउँछन् ।
यही पैसोले लुहारले छोराछोरीको लत्ताकपडा किन्ने गरेका छन् । 'छोराहरूले यो पेसालाई अपनाउन चाहँदैनन्, अब पेशा संकटमा पर्ने चिन्ता छ', उनी भन्छन् ।
आरन व्यवसाय संकटमा परेको छ । 'बजार अभाव छ, त्यसैले आरन व्यवशाय गाउँघरबाटै हराउँदै गएको छ', स्थानीय दीपेन्द्र धामीले भने । परम्परागत घरेलु हस्तकलाका सामग्रीको प्रयोग कम हुनुका साथै मेहनत गरेअनुसारको मूल्य नपाउँदा पनि यो पेसा विस्तारै लोप हुँदै गएको छ ।
आरन व्यवसायी गंगाराम लोहार यही पेसालाई आधुनिक ढंले व्यावसायिक रूपमा अघि बढाउन सके स्थानीय स्रोतसाधनको प्रयोगबाटै गाउँघरमा रोजगारी सिर्जना गर्न सकिने बताउँछन् । 'अहिलेका युवाको यो पेसाप्रति चासो छैन', उनले भने ।
पहिला-पहिला गाउँघरमा आरन व्यवसाय गर्नेको सङ्ख्या उल्लेख्य थियो । भाँडाकुँडा बनाउन कोइलाको प्रयोग गरिन्छ । अहिले दाउराको पनि अभाव हुन थालेको छ ।
स्थानीय गजेन्द्र लुहार भन्छन्, 'मैले सानै उमेरदेखि बुबा र बाजेले काम गरेको देखेर सिकेको हुँ, अहिलेका पुस्ताले सिक्न चाहँदैनन्, सिकेर खेर जाँदैन, यसबाट पनि पैसो कमाउन सकिन्छ ।'
आठ जनाको परिवारको खर्च आरन पेसाबाटै चलाएको लुहारले बताए । सरकारले आरन पेसा लोप हुन नदिन विभिन्न कार्यक्रम ल्याउनुपर्ने उनको माग छ ।