काठमाडौं । त्रिभुवन विमानस्थलबाट गत मंसिर २१ गते बरामद सुन ल्याउने समूहले यसअघि १३८ किलोग्राम सुन ल्याएको खुलासा भएको छ ।
गत मंसिर २१ गते गोरखाका चन्द्र घलेका साथबाट बरामद भएको सुन कारोबारमा ९ जनाको संलग्नता रहेको र समूहले हालसम्म १३८ किलोग्राम सुन नेपाल ल्याइसकेको खुलेको हो ।
सुन बरामद भएसँगै सरकारले भन्सार अधिकृतको संयोजकत्वमा गठन गरेको छानबिन समितिले आज सोमबार बुझाएको प्रतिवेदनमा १४ किलोग्राम सुन फेला पारेपछि बनेको छानबिन समितिले प्रतिवेदनले सो समूहको संलग्नतामा १३८ केजी सुन ल्याएको भन्ने प्रारम्भिक विवरण प्राप्त भएको जनाएको हो ।
विमानस्थलका भन्सार प्रमुख टोकराज पाण्डेले १४ किलो सुन प्रकरणमा संलग्नविरुद्ध भन्सार ऐनअनुसार मुद्दा दर्ता हुने बताए । मंसिर २१ गते दुबईबाट ल्याएको १४ किलो सुनसहित पक्राउ परेका गोरखाका मीनबहादुर घलेबाट सुरु भएको अनुसन्धान हालसम्म ९ जना पक्राउ परेका पाण्डेले बताए । पक्राउ परेका सबैलाई २५ दिनभित्र भन्सार ऐनअनुसार मुद्दा दर्ता गर्ने पनि प्रमुख पाण्डेले बताए ।
भन्सार प्रमुख पाण्डेले बरामदपछि सुनको छानबिन गर्नका लागि प्रमुख भन्सार अधिकृतको संयोजकत्वमा बनेको समितिले विमानस्थलमा देखिएका समस्या र गर्नुपर्ने सुधारका विषयहरूलाई समेत प्रतिवेदनमा समावेश गरेको बताए । हालसम्म पक्राउ पर्नेमा गोरखाका मीनबहादुर घले, गोरखाकै चन्द्र घले, स्याङ्जाका कृष्णकुमार श्रेष्ठ, काठमाडौंका शेरबहादुर बस्नेत, नुवाकोटका लेकबहादुर तामाङ, काठमाडौं राधाकृष्ण श्रेष्ठ, काठमाडौंकै रमेश देउला, धादिङका अनिल श्रेष्ठ र लमजुङकी विना गुरुङ छन् ।
समितिले घलेले दुबईमा तथाकथित अंकित अग्रवाल नाम गरेको व्यक्तिसँग सम्पर्क राखी नेपालमा सुन तस्करी गर्न चाँजोपाँजो मिलाउने गरेको निष्कर्ष निकालेको छ । घले स्वयं तथा चन्द्र घले र कृष्णकुमार श्रेष्ठ समेतले पटक–पटक दुबईबाट सुन लिई आउने गरेको अनुसन्धानबाट खुल्न आएको समितिको भनाइ छ ।
समितिले अध्यागमन कार्यालयले पटक–पटक दुबई, सिंगापुर, हङकङ, थाइल्यान्ड लगायतका देशमा आवागमन गरिरहेका यात्रुहरूको सूचना भन्सार तथा प्रहरीलाई दिने लिने व्यवस्था मिलाउनुपर्ने सुझाव समेत दिएको छ ।