म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा ‘डिजिटल एक्सरे’ सेवा सुरु भएको छ ।
लायन्स क्लब अफ म्याग्दी दरवाङको पहलमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ले लायन्स क्लब अन्तर्राष्ट्रियको फाउन्डेसनको कोषबाट १ वर्षअघि रु ४२ लाख मूल्य बराबरको ५०० एमए एक्सरे, कम्प्युटर रेडियोग्राफी सिस्टम १ थान, यूएसजी र इलेक्ट्रोटोटल एनालाइजर मशिन उपलब्ध गराएको थियो ।
केन्द्रका सूचना अधिकारी यमन नेपालीले लायन्स क्लबले उपलब्ध गराएको एक्सरे मशिनको कम्प्युटेड रेडियोग्राफी प्रणालीलाई पुरानो १०० एमएको एक्सरे मशिनमा जडान गरी डिजिटल बनाएर आईतबारदेखि प्रयोगमा ल्याइएको जानकारी दिए ।
‘५०० एमए रेडियोग्राफी सहितको एक्सरे मशिन धेरै प्रयास गर्दा पनि प्रयोगमा ल्याउन नसकेपछि सोको प्रणाली केन्द्रमा रहेको पुरानो मशिनमा जडान गरेर सेवा सुरु गरिएको हो,’ उनले भने, ‘डिजिटल एक्सरे सेवा सुरु भएपछि सेवाग्राहीलाई सहज भएको छ ।’
डिजिटल एक्सरे सेवा भएपछि बिरामीको उपचार गर्न सहज हुने सूचना अधिकारी नेपालीले बताए । केन्द्रबाट मालिका, धौलागिरि र मङ्गला गाउँपालिकाका वासिन्दाले सेवा लिने गर्दछन् । सो क्षेत्रका वासिन्दालाई एक्सरे सेवाका लागि सदरमुकाम बेनी पुग्नुपर्ने समस्या हटेको छ ।
चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एक्सरेको रिपोर्टको आधारमा बिरामीको समस्या पहिचान गर्न सहज भएको हो । हाल प्रयोगशाला, एक्सरे, अल्ट्रासाउन्ड, मुटुको ईसीजी, पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने स्क्रिनिङ, हातखुट्टा भाँचिएको प्लास्टर सेवा दिइरहेको केन्द्रले आफ्नै औषधि पसल सञ्चालन गरेको छ ।