खोटाङ । सिन्धुलीमा भएको सवारी दुर्घटनामा खोटाङका २ युवाको मृत्यु भएको छ ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारस्थित झाँगाझोली नजिकै आज सोमबार विपरीत दिशाबाट आइरहेको बस र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका २० वर्षीय सुसल राई र मोटरसाइकलको पछाडि बसेका खोटाङकै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी १८ वर्षकी मुनाकला राईको मृत्यु भएको हो ।
काठमाडौंबाट खोटाङ आउँदै गरेको बा६०प ३५४५ नम्बरको मोटरसाइकललाई विपरीत दिशा (रामेछाप)बाट आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नम्बरको बसले ठक्कर दिँदा मुनाकलाको घटनास्थलमै र सुसलको खाल्टेस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब निरीक्षक चिरन्जीवी दाहालले जानकारी दिए ।
दुर्घटनापछि बसका चालक रामेछापको मन्थली नगरपालिका–१३ का २४ वर्षीय रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दा तथा यात्रुले बसमा आगजनी गरेर सडक अवरुद्ध पारेका थिए । स्थानीय वासिन्दा एवं अन्य सवारीसाधनका यात्रुले बस चालकको लापरबाहीले दुर्घटना भएको भन्दै चालकलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।
यातायातका सवारी साधनको निकै चाप हुने राजमार्ग अवरुद्ध हुँदा काठमाडौं आवतजावत गर्ने सवारीसाधनहरू दुर्घटनास्थलमै लर्को लागेको थियो । दुर्घटनापछि आक्रोशित भीडले अवरुद्ध गरेको सडक करीब २ घण्टापछि विना शर्त खुलाइएको प्रहरीले जनाएको छ ।
मृतकको शवपरीक्षणका लागि सिन्धुलीको सदरमुकाम सिन्धुली माडी पुर्याएको पाइएको डिकुवाका वडाध्यक्ष देवेन्द्र राईले जानकारी दिए । ‘दुर्घटना भएको थाहा पाएलगत्तै हलेसीबाट हिँडेका हामीहरू भर्खर घटनास्थल आइपुगेका छौं । मृतक दुवै जनाको शव परीक्षणका लागि सिन्धुली माडी पुर्याइएको छ भन्ने जानकारी पाएका छौं,’ उनले भने, ‘शव भएको ठाउँमा पुग्न अझै समय लाग्छ । कुन सहमतिमा शव उठाइएको छ भन्ने थाहा छैन । त्यहाँ पुगेपछि यथार्थ बुझेर निर्णय लिन्छौं ।’