भरतपुर । कालिका नगर तेक्वान्दो डोजाङको आयोजनामा भएको तेस्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधि नेपाल आर्मीले जितेको छ ।
चितवनको भरतपुर कभर्ड हलमा आज सम्पन्न प्रतियोगितामा आर्मी प्रथम भएको हो ।
१० स्वर्ण, ४ रजत र ४ कास्यसहित १८ वटा पदक जितेर आर्मी प्रतियोगिताको विजेता बनेको छ । आर्मीले नगद १ लाख पुरस्कार प्राप्त गरेको प्रतियोगिताका संयोजक रमेश कार्कीले जानकारी दिए ।
प्रतियोगितामा उपविजेता बनेको बुटवल तेक्वान्दो डोजाङले ९ स्वर्ण, ९ रजत र ४ कास्यसहित १५ वटा पदक जितेको छ । बुटवलले नगद ५० हजार पुरस्कार प्राप्त गरेको कार्कीले बताए ।
तेस्रो भएको एपीएफले ४ स्वर्ण र ३ कास्यसहित ७ वटा पदक जितेको छ । एपीएफले नगद २५ हजार प्राप्त गरेको छ । प्रतियोगिता कूल ४६ स्वर्ण, ४६ रजत र ९२ कास्य पदकका लागि भएको थियो ।
प्रतियोगिताको पुम्सेतर्फ पनि नेपाल आर्मी प्रथम भएको छ । आर्मीले २० हजार नगद प्राप्त गरेको छ भने दोस्रो भएको एपीएफले १० हजार र तेस्रो भएको चितवन तेक्वान्दो डोजाङले नगद ५ हजार रुपैयाँ पाएको छ ।
प्रतियोगितामा बुटवल तेक्वान्दोका महिला र पुरुष दुवै खेलाडी उत्कृष्ट घोषित भएका छन् । बुटवलले महिला र पुरुष दुवै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको भन्दै १०/१० हजार नगद पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगितामा विजयी भएका खेलाडीहरूलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मेडल तथा पुरस्कार प्रदान गरे । उनले भरतपुर खेलकुदको हबका रूपमा विकास हुँदै गएको दाबी गरे । पछिल्लो समय भरतपुरमा विभिन्न खेलका राष्ट्रिय प्रतियोगिताहरू आयोजना भइरहेको भन्दै मेयर दाहालले खेलाडी उत्पादनमा महानगरले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।