दलित भएको भन्दै घरबाट निकाल्ने घरबेटी पक्राउ

दलित भएको भन्दै घरबाट निकाल्ने घरबेटी पक्राउ

दाङ। दाङमा एक घरबेटीले दलित भएको भन्दै भाडाबाट निकालेपछि ती घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार घरबेटी घोराही उपमहानगरपालिका-१७ दाङका ताराप्रसाद पोखरेललाई शनिबार पक्राउ गरी अनुसन्धान थालिएको छ ।

पोखरेलको घरमा बसिरहेका पञ्चल देवल नपा-७ पुल्तोला अछाम हाल घोराही-१७  मा बस्दै आएका महेन्द्र विक र अदानचुली गापा-३ हुम्लाका अंगराज नेपालीलाई घर निकाला गरेको प्रहरीले जनाएको छ ।

'तिमीहरू कामी रहेछौँ, घर बनाएदेखि दलितलाई छिर्न दिएको छैन । तिमीहरू घरमा आएदेखि म बिरामी छु भन्दै घरबाट निकालिदिनुभयो', पीडित महेन्द्र विककी श्रीमती शान्ति विकले भनिन् ।

सोही घरमा परियारसंँग तीनजना एउटा कोठामा बस्थे भने महेन्द्रको परिवार अर्को कोठामा बस्थे । 

शुक्रबार साँझ नै घरबेटीले त्यस्तो व्यवहार गरेको प्रहरीले बताएको छ । प्रहरीले जातीय छुवाछूतअन्तर्गत मुद्दा दर्ता गरी कारबाही गर्ने तयारी गरेको छ । 

घटना बाहिर आएपछि प्रेस सेन्टर दाङ, दलित पत्रकार संघ दाङलगायत विभिन्न संघसंस्थाले विज्ञप्ति जारी गरी विरोध जनाएका छन् । साथै दोषीमाथि कारबाहीको माग गरेका छन् ।