काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मार्क्सवाद ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने दर्शन भएको बताउँदै आजको सन्दर्भमा विचारको विकास नै कम्युनिस्ट आन्दोलनको प्रमुख चुनौती रहेको बताएका छन् ।
मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित १३१औं ‘माओ दिवस’का सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले विकसित परिस्थितिको जगमा विचारको विकास गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनले भने, ‘आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति माओको जीवनकालको जस्तो छैन । माओपछि विश्व परिस्थितिमा निकै ठूलो फेरबदल आएको छ । सबैभन्दा ठूलो परिवर्तन आईटी क्षेत्रमा आएको छ । साम्राज्यवादले नयाँ नयाँ रणनीति र कार्यनीतिसहित आफूलाई टिकाइरहेको छ । हामी मार्क्सवादीहरूले ठोस परिस्थितिअनुसार आफूलाई जसरी रूपान्तरण गर्नुपर्थ्यो, त्यो गर्न सकिरहेका छैनौं । आजको मुख्य चुनौती यही हो ।’
‘माओको स्मरण गर्नुको अर्थ विचार र क्रान्तिलाई मौलिक ढंगले सोच्नु पनि हो । उहाँले मार्क्सवादका ३ वटै संगठक अंगमा मौलिक योगदान गर्नुभएको छ, मार्क्सवादको नितान्त सिर्जनात्मक विकास गर्नुभएको छ । हामीले सिक्ने त्यहीँनेर हो । हामी कुनै यान्त्रिकता वा अन्धानुकरणमा जानु हुँदैन । पार्टीको आठौं महाधिवेशनले संश्लेषण गरेको कार्यदिशा पनि यही हो ।’
अध्यक्ष प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिको बाटोबाटै समाजवादको आधार तयार हुनुेमा जोड दिए । उनले भने, ‘हामी सामाजिक न्याय, सुशासन र समृद्धिलाई उच्च प्राथमिकता दिएका छौं, यसको अर्थ समाजवादको आधार तयार पार्नु हो । त्यसकै आधारमा हामी अगाडि बढ्छौं ।’
पार्टीले ४ महिनाका लागि सञ्चालन गरेको जनतासँग माओवादी विशेष रूपान्तरण अभियान समापनलगत्तै अर्को अभियानको सुरूवात गरिने उनले बताए । अध्यक्ष प्रचण्डले भने, ‘४ महिने अभियान पुस १६ गते समापन हुँदैछ । त्यसपछि हामी विचारको छलफल र अन्तर्क्रियामा जनतामा नै जान्छौं । त्यसका लागि विचार केन्द्रित अर्को अभियान सुरू गर्छौं ।’