काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमले गर्ने स्वस्थ आलोचना र खबरदारी सकारात्मक रहेको बताएकी छिन् ।
साउथ एसिया नेटवर्क टिभीले आज आयोजना गरेको दोस्रो चाइना–नेपाल मिडिया सम्मेलनको उद्घाट्न गर्दै उनले सञ्चारमाध्यमले गर्ने खबरदारीले सरकार लगायत राजनीतिक शक्तिलाई गलत बाटोमा जानबाट रोक्ने धारणा राखीन ।
मन्त्री शर्माले सरकार सुशासन, समृद्धि र सामाजिक न्यायलाई मूल एजेण्डा बनाएर अघि बढेको उल्लेख गरीन् । यसलाई कार्यान्वयन गर्ने सवालमा कमीकमजोरी भएमा सञ्चारमाध्यम तथा पत्रकारले स्वस्थ आलोचना तथा खबरदारी गर्नु सकारात्मक रहेको उनको भनाइ थियो ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक अधिकार पनि पूर्ण नहुने भएकाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासहितको राजनीतिक अधिकार नेपालमा स्थापित भएको मन्त्री शर्माले बताइन् । उनले भनिन्, “विगतमा हामीले प्राप्त गरेका सफलतामा सञ्चारमाध्यमको ठूलो सहयोग र समर्थन रहँदै आएको छ ।”
सन् १९५५ मा नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध सुरु भए पनि आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध भने सयौँ वर्षअघिदेखिको भएको मन्त्री शर्माले बताइन् । “यस क्षेत्रको मानव सभ्यताको विकाससँगै नेपाल र चीनबीचको सुमधुर सम्बन्ध रहँदै आएको पाइन्छ । भृकुटी, अरनिकोजस्ता विभूतिले दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउने काम गरेका छन्”, उनले भनिन ।
सदियौँ देखिको नेपाल र चीनबीचको सम्बन्ध अझ बढी प्रगाढरुपमा अघि बढिरहेको मन्त्री शर्माको भनाइ थियो । आपसी सम्बन्धलाई प्रगाढ बनाउन दुबै देशबाट उच्चस्तरीय भ्रमण पनि हुँदैआएका उनले बताइन् ।
पछिल्लो समय विश्वभरि देखिएको आर्थिक सङ्कुुचनको असर सञ्चारमाध्यममा पनि परेको उल्लेख गर्दै मन्त्री शर्माले सामाजिक सञ्जालको बढ्दो प्रयोगले निम्त्याएका चुनौतीको सामना गर्नु साझा सरोकार भएको बताइन् ।
सरकार–सरकार र जनता–जनताबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन दुवै देशका सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै मन्त्री शर्माले त्यसका लागि यस्ता सम्मेलन फलदायी हुने बताइन् ।