नवलपरासी । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ ।
आयोजनाको पूर्वीखण्डमा पर्ने गैंडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटर सडकमध्ये १८ दशमलव ५ किलोमिटर खण्डमा कालोपत्र गरिएको छ ।
चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका कन्ट्रयाक्ट म्यानेजर (ठेक्का व्यवस्थापक) राकेश झाका अनुसार अहिले एकतर्फी कालोपत्रसँगै सबबेस (कालोपत्र गर्नुपूर्वको अवस्था), ठूला पुल निर्माण, सडकको दायाँबायाँ र खोला किनारमा पर्खाल निर्माण लगायतका काम भइरहेका छन् । आगामी २ महिनाभित्र एकतर्फी ४२ किलोमिटर कालोपत्र गर्ने गरी सडक विस्तारको काम भइरहेको उनले बताए । अहिले ठूला निर्माणलाई प्राथमिकता दिँदै दाउन्ने पहाडको भित्तो काट्ने कामसमेत अगाडि बढाइएको उनको भनाइ छ ।
‘पूर्वी खण्डमा पर्ने दाउन्ने पहाडको ५ किलोमिटर पहाडमध्ये ४ किलोमिटर पहाड काटेर फराकिलो पारिसकेका छौं,’ उनले भने, ‘बाँकी रहेको १ किलोमिटर पहाड पनि १ महिनाभित्र काटेर सक्ने गरी काम अघि बढाएका छौं ।’
दुम्कीबासतर्फबाट पहाडको भित्तो काट्दै गएको उल्लेख गर्दै पहाडको भित्तो काटेर सकेपछि दाउन्नेको पहाडमा पनि कालोपत्रको काम अगाडि बढाइने उनले बताए । अहिले गैंडाकोटको भेंडाबारीबाट झराही खोलासम्म, देवचुलीको रजहर, कावासोतीको डण्डा बजार र कावासोती बजार क्षेत्रमा कालोपत्रको काम भइरहेको उनले जानकारी दिए ।
‘कावासोतीको सुक्खा खोला पुलबाट पश्चिमतर्फ करीब ४०० मिटर विवाद भएको छ,’ उनले भने, ‘१ महिनाभित्र विवाद भएको ठाउँबाहेक कावासोती क्षेत्रको सबै ठाउँमा कालोपत्र गरिसकिन्छ ।’ आगामी फागुनबाट डण्डा पश्चिमतर्फ र गैंडाकोटको थुम्सी जंगल पूर्वतर्फको भागमा कालोपत्रको काम अगाडि बढाइने ठेक्का व्यवस्थापक झाको भनाइ छ । हालसम्म आयोजनाको पूर्वी खण्डको काममा करीब ४४ प्रतिशत प्रगति भएको जनाउँदै आगामी असारसम्म ७० प्रतिशत काम सकिने जानकारी दिए ।
‘दोस्रोपटक म्याद थप भएको समय २१ जुलाइमा सकिन्छ, त्यतिबेलासम्म पूर्वी खण्डको ७० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य छ,’ उनले भने, ‘हामीले विक्रम संवत् २०८१ को चैत मसान्तसम्म ९० प्रतिशत भौतिक प्रगति सक्नेगरी कार्ययोजना बनाएर निर्माणलाई तीव्रता दिएका छौं ।’ सडक विस्तारका लागि अहिले कुनै अवरोध छैन । गैंडाकोटमा बिजुलीको पोला सार्ने काम भइरहेका कारण त्यस क्षेत्रमा कालोपत्र गर्न ढिलाइ भएको भन्दै त्यसबाहेक अन्य अवरोध नरहेको उनले बताए ।
विक्रम संवत् २०७५ माघ २४ गते चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङ कर्पोरेसन लिमिटेडसँग ठेक्का सम्झौता भएर चैत ८ गतेबाट सडक विस्तारको काम सुरु गरिएको थियो । नारायणगढ–बुटवल सडक विस्तार आयोजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनीयर शिव खनालले व्यवस्थित तरिकाले सडक विस्तारको काम भइरहेको बताए । ‘पछिल्लो समय पूर्वी खण्डमा कल्भर्ट निर्माण, ठूला पुल निर्माण, तथा सडक किनारमा पर्खाल लगाउने काम भइरहेका छन्,’ उनले भने, ‘सडक विस्तारको कामलाई तोकिएकै समयभित्र सम्पन्न गराउन हामीले निर्माण कम्पनीलाई दबाब दिँदै आएका छौं ।’