रुकुमपश्चिम । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाबाट ६ करोड भन्दा बढीको अदुवा बिक्री भएको छ ।
पालिकाभर २ हजार ६०० किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट ६ करोड २४ लाख आम्दानी भएको त्रिवेणी गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले यस वर्ष १५ लाख ६० हजार केजी अदुवा उत्पादन भएको जानकारी दिए । गाउँपालिकाभित्र अदुवाखेती गर्ने २ हजार ६०० घरधुुरी रहेका र ५ हजार २०० रोपनी क्षेत्रफलमा अदुवा उत्पादन हुने गरेको जनाइएको छ ।
१ रोपनी जग्गामा ३०० केजी अदुवा उत्पादन हुने गरेको उनले जानकारी दिए । प्रत्येक किसानले गाउँबाटै १ क्विन्टललाई ४ हजार रुपैयाँका दरले बिक्री गरेका छन् । अदुवाका लागि व्यापारी गाउँमै पुगेर खरिद गर्ने गरेकाले बजारको समस्या नरहेको कृषि शाखाले जनाएको छ ।
व्यावसायिक रूपमा अदुवाखेती गरेका त्रिवेणी–४ खुम्चेरीका नरे खड्काले यस वर्ष अदुवा बिक्रीबाट १ लाख आम्दानी गरेको बताए । विगत २० वर्षदेखि अदुवाखेतीमा लागेका उनले निरन्तर खेती गर्दै आएका छन् ।
यस वर्ष उत्पादन भएको साढे ३ क्विन्टल बीउका लागि र १२ क्विन्टल प्रतिक्विन्टल ४ हजारदेखि ८ हजारका दरले बिक्री गरेकोे उनले बताए ।
त्रिवेणी–४ खुम्चेरीका ५५ वर्षीय कृषक हरिबहादुर खड्काले यस वर्ष अदुवा राम्रो उत्पादन भएको जानकारी दिए । ३० वर्षदेखि निरन्तर कृषि पेसा गर्दै आएका उनले यस वर्ष अदुवा बिक्रीबाट १ लाख ५० हजार आम्दानी गरेको बताए ।
अदुवा गाउँबाटै प्रतिक्विन्टल ४ हजार र बीउका लागि प्रयोग हुने अदुवा प्रतिक्विन्टल ८ हजार देखि १० हजारसम्म बिक्री भएको उनले बताए ।
‘पहिले १ क्विन्टल अदुवाबाट ७ क्विन्टल उत्पादन गरिन्थो, उमेर पनि ढल्किँदै गयो अहिले त १ क्विन्टल अदुवाबाट ३ देखि ४ क्विन्टलसम्म उत्पादन गर्ने गरेको छु,’ उनले भने । यस वर्ष बीउका लागि १२ क्विन्टल अदुवा भण्डारण गरेर राखेको किसान खड्काले बताए ।