म्याग्दी । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकअन्र्तगत थप ६ पुल निर्माण भएको छ ।
म्याग्दीको रघुगंगा गाउँपालिकामा १, मुस्ताङको थासाङ गाउँपालिकामा १ र लोमान्थाङ गाउँपालिकामा ४ मोटरेबल पुल सञ्चालनमा आएका बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । आयोजनाका इन्जिनीयर विष्णु चापागाईंले निर्माणको अन्तिम चरणमा रहेका ती पुल सवारीसाधन आवतजावतका लागि प्रयोग हुन थालेका जानकारी दिए ।
‘९५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएका पुल अन्तिम चरणमा छन्,’ उनले भने, ‘पहुँचमार्ग र संरचना बनिसकेकाले सवारीसाधनले आवतजावतमा प्रयोग गरेका हुन् ।’ बेनी–जोमसोम–कोरला आयोजनाले ५ पुल निर्माणका लागि विभिन्न निर्माण कम्पनीसँग ३१ करोड ६२ लाखमा ठेक्का सम्झौता भएको थियो ।
रघुगंगा–१ बेगखोलामा ७० मिटर लामो ‘डबल स्पाम’ भएको मोटरेबल पुल बनाउन सडक विभागको पुल महाशाखाले बीओकेआई/हिमालयन जेभीसँग भ्याटसहित ८ करोड ३० लाख ६८ लाख ४७३ मा ठेक्का सम्झौता गरेको थियो । थासाङ गाउँपालिकाको छाक्ताङखोलामा डबल स्पाम भएको ८० मिटर लामो पुल निर्माण गर्न कालिका–गजुरमुखी जेभीले ७ करोड ४२ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
लोमान्थाङको लोमान्थाङ, किम्लिङ, नाम्डोक र भर्मा खोलाको पुल निर्माणका लागि मुक्तिनाथ–अमित जेभीले विक्रम संवत् २०७६ असार ३१ गते ठेक्का सम्झौता गरेको थियो । २० मिटर लामो लोमान्थाङ पुलको लागत ४ करोड ६८ लाख, ५० मिटर लम्बाइको किम्लिङ खोला पुलको लागत ६ करोड ३० लाख, ५० मिटर लामो नाम्डोक खोला पुलको लागत ६ करोड ३७ लाख र ८० मिटर लम्बाइको भर्मा खोला पुलको लागत ६ करोड ८५ लाख छ ।
पुल निर्माण भएपछि बाह्रै महिना यातायात सञ्चालन गर्न सहज भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए । योजनामार्फत १३ पक्की पुल र ३ बेलीब्रिज निर्माण सकिएका छन् ।
म्याग्दीको राहुघाटमा ४० मिटर, घट्टेखोलामा ४० मिटर, मुस्ताङको लेतेमा ४० मिटर, स्याङ खोलामा ११५ मिटर, पाण्डाखोलामा ५० मिटर लामो पुल निर्माण भएको छ ।
पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले म्याग्दीको महभिरमा ८०, पोखरेबगर र बेगखोलामा ७०–७० मिटर लामो पुल निर्माण गरेको छ । छुसाङको मुस्ताङ गेटस्थित कालीगण्डकी नदीमा डोलिडारले ७७ दशमलव २ मिटर र जोमसोमस्थित कालीगण्डकी नदीमा तत्कालीन मुस्ताङ जिविसले ४६ मिटर लामो पुल बनाएको थियो ।
म्याग्दीको अन्नपूर्ण–३ स्थित रुप्से, बेनी–बगरफाँट जोड्ने कालीगण्डकी र अन्नपूर्ण गाउँपालिकाको भुरुङ्गखोलामा बेलीब्रिज निर्माण भएको हो । थप १ मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । ७ वटा मोटरेबल पुल निर्माणाधीन छन् । थप ५ ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको छ । पर्वतको मालढुंगाबाट म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने २०२ किलोमिटर दूरीको सडक २ लेनको कालोपत्र र ग्राभेल बनाउन विक्रम संवत् २०७३/७४ देखि सुरु भएको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ ।
६ वटा खण्डमा ८५ किलोमिटर ग्राभेल र ३ वटा खण्डको १९ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ । सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।