इलाम । आधुनिक खेती प्रणालीको प्रयोगले अलैंचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउन थालेका छन् ।
प्रायः किसानले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले पनि अलैंची मासिएको थियोे । मात्रा मिलाएर मलजल र गोडमेल नहुँदा फल दिन सकेको थिएन ।
सूर्योदय नगरपालिका–१ बाङ्गिनका बिरेन शेरेङले करीब १०० रोपनी क्षेत्रफलमा अलैंची लगाएका छन् ।
‘वर्षमा २७ देखि ३१ मन सम्म उत्पादन हुन्छ, सबै खर्च कटाएर वार्षिक ८–१० लाख बचत हुन्छ,’ उनले भने । अलैंची मासिएर निराश भएको समयमा तालिम लिएर खेती गर्दा पुनः अलैंचीबाट आम्दानी लिन थालेको उनले बताए ।
जिल्लामा यस वर्ष १ हजार ३२० दशमलव ५ मेट्रिक टन अलैंची उत्पादन भएको छ । यो अघिल्लो वर्षको तुलनामा ७ दशमलव ९६ प्रतिशतले धेरै हो । १ हजार ७५३ हेक्टर जमिनमा सो बराबरको अलैंची उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले जानकारी दिए ।
उनका अनुसार गत आवमा १ हजार २१५ दशमलव २६ मेट्रिक टन मात्र अलैंची उत्पादन भएको थियो । ‘पोहोर १ हजार ७५५ हेक्टर जमिनमा अलैंची खेती गरिएको थियो,’ उनले भने, ‘अलैंचीको बगान घटे पनि यस वर्ष उत्पादन र उत्पादकत्व वृद्धि भएको छ ।’ गत वर्ष प्रतिहेक्टर ० दशमलव ६९ उत्पादकत्व रहेकोमा चालू आवमा वृद्धि भएर प्रतिहेक्टर ० दशमलव ७५ पुगेको उनले बताए ।
दशकअघि इलामका किसानको मुख्य आम्दानीको स्रोत नै अलैंची थियो । अलैंचीकै आम्दानीले घर खर्च चलाउन मात्र होइन, जग्गा–जमिन जोड्न समेत सहयोग पुगेको थियो तर अचानक अलैंचीमा रोग देखिएपछि जिल्लाका अधिकांश किसानको रोजीरोटी हरायो, धेरैको आम्दानी ठप्प भयो । बिस्तारै अलैंची मासियो तर यसको भाउ भने एकाएक आकाशिएर प्रतिमन १ लाख रुपैयाँसम्म पनि पुग्यो ।
आवश्यक तालिम र विज्ञको सल्लाह लिएर यहाँका किसानले अलैंचीलाई सुधार गरेर उत्पादन पुरानै अवस्थामा पुर्याउने प्रयास थालेका छन् । ‘पाखामा गाडेर मात्र नहुँदो रहेछ, स्याहार गर्न र मलजल गर्न थालेपछि अलैंची सुधार भएको छ,’ किसान शेरेङले भने, ‘रोप्ने तरिका र गोड्ने ढाँचा नै परिवर्तन गरेपछि अलैंचीको उत्पादनमा धेरै फरक पाइयो ।’
उनले सिँचाइको समस्या नहुने हो भने अझ उत्पादन बढाउन सक्ने बताए । अलैंची विकास केन्द्रका ततकालीन प्रमुख पदम अधिकारीसँग ४ वर्षअघि लिएको तालिमले व्यावसायिक खेती गर्न सहयोग पुर्याएको उनले बताए ।
‘मेरोमा उत्पादन भएको अलैंची बाग्लुङ, पोखरा, स्याङजापट्टि पनि आपूर्ति भएको छ,’ उनी भन्छन्, ‘मैलै सधैं बिरुवा उत्पादन गरेर अलैंची विकास केन्द्रलाई दिने गरेको थिएँ, यस वर्ष बिरुवा राख्न फुर्सद भएन, आउँदोसाल बृहत् गर्नुछ ।’