काठमाडौं । कर्णालीको स्वास्थ्य अवस्था विगतका वर्षहरूको तुलनामा सुधार हुँदै गएको छ । सरकारी तथा गैरसरकारी निकायले सञ्चालन गरेका स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमबाट स्वास्थ्य अवस्था सुधार हुँदै गएको देखिन्छ ।
यहाँ जनशक्ति र उपकरणको कमी भए पनि सीमित स्रोतसाधनबाट उल्लेखनीय सेवा दिँदै आएको डा. रत्नवीर सुनार बताउँछन् । जनताले सहज स्वास्थ्य सेवा पाउने अधिकारका लागि स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूको उल्लेख्य भूमिका हुने भएकाले अझ खटिनुपर्ने उनी बताउँछन् ।
डोल्पा देशकै विकट र भौगोलिक रूपमा अप्ठ्यारो जिल्ला हो । डोल्पामा ३ वटा पालिकामा मात्र यातायात सेवा छ, तैपनि भरपर्दाे छैन । तसर्थ एक गाउँबाट अर्काे गाउँ पुग्न ४–५ घण्टादेखि माथिल्लो डोल्पामा १ दिन समेत लाग्छ । त्यसैले सबै ठाउँमा सहज स्वास्थ्य सेवा दिन एकदम चुनौती छ ।
स्वास्थ्य सेवा कार्यालय डोल्पाले घुम्ती शिविरद्वारा विभिन्न पालिकामा सेवा दिने गरेको छ । दुर्गममा गएर जनतालाई स्वास्थ्य सेवा दिन चिकित्सक मान्दैनन् भन्ने समाचार धेरै आउँछन् तर अहिले परिस्थिति फेरिएको छ । यस्तै दुर्गममा गएर जनतालाई स्वास्थ्य सेवा दिने चिकित्सकको नाम हो डा. रत्नवीर सुनार ।
दुर्गममै जन्मे–हुर्केका उनी आफ्नो सम्पूर्ण जीवन दूरदराजमा बस्ने असहाय बिरामीहरूको सेवामा समर्पित गर्न चाहेको बताउँछन् । चाप र तापको प्रभावका कारण कोइलाबाट हिरा बनेका डा. रत्नवीर सुनार, जसले कर्णालीलाई स्वास्थ्य क्षेत्रमा अतुललीय योगदान दिइरहेका छन् । चट्टानलाई फोरेर उम्रेको वरपिपल जस्तै डाक्टर रत्नवीर आम जनतालाई सहज स्वास्थ्य उपचार प्रदान गरिरहेका छन् ।
उनी मेहनत र परिश्रमको सहाराले कमजोर धरातल भएकाहरूले पनि जीवन दृष्टान्त रूपान्तरण गर्न सक्छन् भन्ने उदाहरण पनि हुन् । उनी कमजोर र आवाज विहीनहरूले मन खोलेरै पढ्न सक्ने खुला किताबका रूपमा परिचित समेत छन् ।
उनी भन्छन्, ‘गरीबको सुख–दुःख नजिकबाट नियालेको मलाई दुर्गमका बिरामीको सेवा गर्दा छुट्टै आनन्द आउँछ ।’ उनी आफ्नो ज्ञान, सीप र अनुभव प्रयोग गरी आम जनतालाई सेवा दिँदै आएका छन् ।
२०४५ सालमा जुम्लाको साधारण परिवारमा जन्मिएका डा. रत्नवीर सुनारको बाल्यकाल सामान्य तवरबाट बित्यो । उनले सरकारी स्कूल चन्दननाथ माविबाट स्कूले जीवन पार गरे । गाउँकै खोला नालाले उनलाई शान्त र सरल हुन सिकाएको हो । गाउँघरको दुःख बुझेका रत्नवीर अहिले पनि आफ्नै गाउँघरमा रमाउन चाहन्छन् । गाउँको माटोको मायाले नै होला उनी आफ्नो धरातल बिर्सनै नसकेको बताउँछन् ।
२०६० सालमा एसएलसी पास गरेपछि उनी पूर्ण रूपमा छात्रवृत्ति पाएर काठमाडौं विश्वविद्यालयबाट आईएस्सी अध्ययन गर्न थाले । २०६३ सालमा सोही विश्वविद्यालयबाट आईएस्सी पास गरे । उनले काठमाडौंको बसाइ र गाउँको बसाइमा फरक रहेको समेत अनुभूति गर्न पाए । उनले आईएस्सी पास गरेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट छात्रवृत्तिमा २०७० सालमा एमबीबीएस पास गरे । त्यसपछि रत्नवीरले रूकुम चौरजहारीको एचडीसीएस अस्पतालबाट स्वास्थ्य सेवा शुरु गरे । जुम्ला, मुगु अनि भोजपुर जस्ता दुर्गम जिल्लामा काम गरेको अनुभव उनीसँग छ ।
२०७८ सालमा काठमाडौंको टिचिङ अस्पतालबाट जीपी एण्ड इमर्जेन्सी मेडिसिनमा स्नातकोत्तर सकेपछि उनले पुनः कालिकोट जिल्लाबाट सेवा थाले । एमबीबीएस, एमडी गरेपछि अहिलेसम्म पनि उनी हिमाली दुर्गम जिल्लामा मात्र सेवा गरिरहेका छन् ।
सरकारी सेवामा २०७२ मंसिर ५ गतेबाट प्रवेश गरेका रत्नवीर अहिले कर्णाली प्रदेश अन्तर्गत डोल्पा जिल्लाको स्वास्थ्य कार्यालयमा कार्यरत छन् । एमबीबीएस, एमडी गरेका चिकित्सक कर्णालीमा जानै मान्दैनन् तर पनि उनी तन, मनका साथ अनेक बाधा व्यवधानका बावजुत सरल र सहजै रूपमा कर्णालीमा सेवा गरिरहेका छन् ।
स्वास्थ्यको कर्मचारी भएर आफ्नो सेवा सुविधा भन्दा पनि जनताले आधारभूत सेवा पाउन् भन्ने उनको धारण छ । जनताको सेवाबाट पाएको सन्तुष्ट नै जीवनको ठूलो कमाइ भएको र यसलाई पैसा र पदसँग दाँज्न नसकिने मनोभावका साथ उनी आमजनताकै सेवामा खटिइरहेका छन् ।
‘सबै कर्मचारीले देशले मलाई के देला होइन, मैले देशलाई के दिन सक्छु भन्ने भावमा जिउन सक्नुपर्छ,’ उनी भन्छन्, ‘पेशा ठूलो–सानो हुँदैन, आफ्नो देशमा भाएको जस्तो अस्तित्व, मान, मर्यादा र स्वाभिमान विदेश जाँदा पाइँदैन ।’
उनले आफ्नै सक्रियतामा विभिन्न कार्यक्रम ल्याएका थिए । स्वास्थ्य सेवा कार्यालय डोल्पा र त्रिपुरासुन्दरी नगरपालिकाले संयुक्त रूपमा दुर्गम गाउँबस्तीका जनतालाई ८ प्रकारका स्वास्थ्य सेवा दिएको छ । गर्भवती महिलालाई गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा, निःशुल्क स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सरको जाँच, खकार परीक्षण, गर्भनिरोध सेवा लगायतका सेवा दिइएको उनी बताउँछन् । गरीब र गाउँमा बस्दैमा आधारभूत सेवा नपाउने गलत प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको धारणा छ ।
त्यति मात्र नभई उनकै सक्रियतामा गाउँका ७० वर्ष उमेर पूरा भएका १२ जना ज्येष्ठ नागरिकलाई टेक्ने लठ्ठी, न्यानो टोपी, साबुन, ब्रस, नेलकटर लगायतका सामग्री प्रदान गरिएको छ । बुढेसकालको सहाराको रूपमा रहेको लौरो, न्यानो टोपी लगायतका सामान ज्येष्ठ नागरिकलाई प्रदान गर्दा सन्तुष्टि मिलेको उनले बताए ।
स्वास्थ्य सेवाबाट कूल २८३ जना सर्वसाधारण लाभान्वित भएकोमा आफू ज्यादै खुशी भएको र आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने उनी बताउँछन् ।
दुर्गममा विशेषज्ञ चिकित्सक कम भएकाले उपलब्ध जनशक्तिलाई दक्ष बनाउनुको विकल्प नभएको उनको भनाइ छ । सेवा भावले काम गर्दा सबैको विश्वास जित्न सफल हुने भएकाले पनि आफू सधैं बिरामीको सेवामै तल्लिन भएको सुनार बताउँछन् । उनका अनुसार डोल्पा जिल्ला ७२औं स्थानमा पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । २ नगरपालिका र ६ गाउँपालिका रहेको डोल्पा जिल्लामा पूर्ण खोपका आवश्यक मापदण्ड पूरा भएसँगै पूर्ण खोप सुनिश्चितता जिल्ला पनि घोषणा गरिएको छ ।