काठमाडौं । प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बागमती र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।
बागमतीले लुम्बिनी प्रदेशलाई र सुदूरपश्चिमले मधेश प्रदेशलाई पराजित गर्दै विजयी भएका हुन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बागमतीले लुम्बिनीमाथि ९ रनको झिनो अन्तरले पराजित गर्यो ।
बागमतीले प्रस्तुत गरेको ११० रनको लक्ष्यलाई लुम्बिनीले निर्धारित २० ओभर ८ विकेट गुमाउँदै १०० रनमा समेटियो । लुम्बिनीका लागि कप्तान सरस्वती घर्तीमगरले २९ रन बनाइन् भने कमला घर्तीमगरले २०, सरस्वती पुनले १७ तथा लक्ष्मी चौधरीले ११ रन बनाए ।
बागमतीका लागि कप्तान अस्मिना कर्माचार्य र खुसी डङ्गोलले समान २/२ विकेट लिए भने संस्कृति फुयाल, सोनी पाख्रिन र मनिषा उपाध्यायले समान १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०९ रनको योगफल बनाएको थियो ।
बागमतीका लागि हेलिशा गुरुङले सर्वाधिक ४६ रनको योगदान दिइन् । याशु पाण्डेले अविजित १२ रन बनाए ।
लुम्बिनीका लागि शर्मिला रोक्काले ३ विकेट लिइन् भने मनिषा राना, कीर्तिका मरासिनी, मधु डिसी र कमला घर्तीमगरले समान १/१ विकेट लिए । जीतसँगै बागमतीले ५ खेलमा ६ अंक जोडेको छ । हारसँगै लुम्बिनीले समान खेलबाट ४ अंक जोडेको छ ।
त्यसगरी माथिल्लो मूलपानी क्रिकेट मैदानमा आजै भएको अर्को खेलमा सुदूरपश्चिमले मधेश प्रदेशमाथि ५ विकेटको जीत हासिल गर्यो ।
मधेशले प्रस्तुत गरेको ८३ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १९ दशमलव ५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । सुदूरपश्चिमका लागि कविता जोशीले सर्वाधिक २६ रन बनाइन् । सम्झाना खड्काले २१ तथा कप्तान रितु कनौजियाले १० रन बनाइन् ।
मधेशका लागि कप्तान कविता गौतम र साक्क्षी यादवले समान २–२ विकेट लिए भने तथा पूजा महतोले १ विकेट झारे ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८२ रनको योगफल बनाएको थियो । मधेशका लागि पूरा महताले सर्वाधिक २७ रन बनाइन् । साना प्रविनले अविजित १९ र रोजी कदारीले १० रन जोडे ।
सुदूरपश्चिमका लागि लक्ष्मी साउँदले ४ विकेट लिइन् भने जानकी थापा र कविता जोशीले समान १/१ विकेट लिए । जीतसँगै सुदूरपश्चिमले ५ खेलमा ८ अंक जोडेको छ । समान खेल खेलको मधेशको २ अंक छ ।