गण्डकी । नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम प्रदेश सम्मेलनले प्रधानमन्त्री एकै व्यक्ति २ पटकभन्दा बढी हुुन नहुने प्रस्ताव गरेको छ ।
पुस ३ र ४ गते सम्पन्न सम्मेलनमा भएका गतिविधि र निर्णय सार्वजनिक गर्न आज बुधबार कांग्रेस गण्डकी प्रदेश समितिले विज्ञप्ति जारी गर्दै सम्मेलनमा पारित प्रस्तावबारे जानकारी गराएको हो ।
कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला ‘मधुु’ले विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको गण्डकी प्रदेशको प्रथम ऐतिहासिक सम्मेलनमा पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले अवधारणापत्र र महामन्त्रीद्वय किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने क्रमशः संगठनात्मक र राजनीतिक प्रतिवेदनका साथै कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठले आर्थिक प्र्रतिवेदन प्रस्तुत गरेका जानकारी दिए ।
प्रतिवेदनमा उल्लेखित नेपालको संविधानमा गर्नुपर्ने संशोधन र पार्टीको विधानमा गर्नुपर्ने संशोधनलाई साथै अन्य प्रस्तावलाई आसन्न महासमिति बैठक र केन्द्रमा प्रस्तुत गरिने विज्ञप्तिमा जनाइएको छ ।
प्रवक्ता बास्तोलाका अनुसार सम्मेलनले केन्द्रीय सदस्य पदावधि समाप्त भएपछि १ पटकका लागि स्वतः महाधिवेशन प्रतिनिधि हुने वर्तमान विधानको धारा खारेज गरी वडा तहबाट नै निर्वाचनमा भाग लिने व्यवस्था गर्ने प्रस्ताव गरेको छ ।
संविधानमा व्यवस्था गरिएको समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली खारेज गरिनुपर्ने, पार्टीको विधानमा भएको लोकतन्त्रको ठाउँमा प्रजातन्त्र लेखी संशोधन गरिनुुपर्ने, नैतिक शिक्षा, निःशुल्क स्वास्थ्य, भ्रष्टाचारको अन्त्य र रोजगारी तथा सुशासनलाई पहिलो प्राथमिकता पाउनुपर्ने सम्मेलनले प्रस्ताव गरेको छ ।
क्रियाशील सदस्यको वितरणलाई सरलीकरण गर्ने, पार्टीमा रहेको बहुपदीय पदाधिकारी व्यवस्थालाई खारेज गर्ने, प्रदेश समितिलाई अधिकार सम्पन्न बनाउँदै लैजानुपर्ने, प्रदेश संरचनाका टिकट प्रदेश समितिबाट वितरण हुनुपर्ने प्रस्ताव गरिएको बास्तोलाले बताए ।
व्यावसायिक, वैज्ञानिक र नैतिक शिक्षा प्रणाली लागू गरी देशमा उद्योग, उत्पादन र रोजगारीको ग्यारेण्टी गराई युवालाई रोजगारका साथै विदेश पलायन हुनबाट रोक्ने कांग्रेसको प्रस्ताव छ ।
आफ्नै कार्यालय भवन निर्माण गर्ने, पार्टीलाई प्रविधिमैत्री बनाई कांग्रेसका कार्यकर्तालाई अनुशासित एवं विचार प्रधान बनाउने र पार्टीलाई नीति नियमअनुसार सञ्चालन गर्ने, प्रशिक्षण कार्यक्रम गरी पार्टीभित्र मूल्यांकन पद्धति, गुटबन्दीको अन्त्य गर्न इमान्दार र क्षमतावान् कार्यकर्तालाई जिम्मेवारीमा राख्ने सम्मेलनको प्रस्ताव छ ।
राष्ट्रिय मूलधारमा सबैको पहुँच पुर्याउन पार्टीभित्र सबै वर्ग र समुदायलाई प्रशिक्षण, क्रियाशीलता र प्रतिनिधि मुलुक बनाउने व्यवस्था गर्ने, पार्टीको साख बचाइराख्न राष्ट्रिय, प्रादेशिक र स्थानीय निर्वाचनमा गठबन्धन गर्न नहुने कांग्रेसले भनेको छ ।
नेपाली कांग्रेसबाट सरकारमा रहँदा वा नरहँदा भएका सबै प्रकारका गल्ती, कमजोरीको आत्माआलोचना गर्दै त्यस्ता गल्ती नदोहोर्याउने, सत्ता र शक्तिमा वा लाभको पदमा सधैंभरि सीमित मान्छेको हाबी भएको परिस्थितिलाई अन्त्य गरी निश्चित मापदण्ड बनाई वैज्ञानिक प्रणाली लागू गर्नुपर्ने प्रस्ताव गरिएको बास्तोलाले जानकारी दिए ।
प्रदेश सभापातिको मर्यादाक्रमलाई केन्द्रीय पदाधिकारीसँगै राख्नुपर्ने र पार्टीभित्रको सबै तहमा प्रोटोकलको व्यवस्था गर्नुपर्ने, निर्वाचित जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धलाई प्रगाढ बनाउनुपर्ने र पार्टीको निर्देशनअनुसार पार्टीबाट निर्वाचित जनप्रतिनिधि पार्टीप्रति पनि उत्तरदायित्व बनाउनुपर्ने प्रदेश सम्मेलनको प्रस्ताव छ ।
पार्टीका पर्व र तिथिमितिलाई व्यवस्थित रूपमा मनाउने र कार्यान्वयनमा ल्याउने, निर्वाचन क्षेत्र प्रदेशसभाका सभापतिलाई महाधिवेशन प्रतिनिधिसरह मान्यता दिनुपर्ने र प्रदेश प्रतिनिधिलाई मात्र प्रदेश कार्यसमितिमा उम्मेदवार बन्ने व्यवस्था मिलाउनुपर्ने कांग्रेसले जनाएको छ ।
नेपालको संविधानमा रहेको धर्म निरपेक्षको ठाउँमा वैदिक सनातन, धार्मिक स्वतन्त्रता राख्ने गरी संविधान संशोधनमा नेपाली कांग्रेसले नेतृत्व लिनुपर्ने विज्ञप्तिमा भनिएको छ । गण्डकी प्रदेश सम्मेलनबाट पारित अवधारणापत्रलाई नेपाली कांग्रेसको सञ्चित सम्पत्तिका रुपमा ग्रहण गरी देशभर लागू गराउने गरी विधानमा व्यवस्था मिलाउन केन्द्रीय कार्यसमितिसमक्ष अनुरोध गरी पठाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।