इलाम । जिल्लामा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ ।
थोरै मेहनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन् ।
माइजोगमाई गाउँपालिका–५ सोयाङका लक्ष्मण खत्रीले १२ रोपनी क्षेत्रफलमा १०० भन्दा धेरै एभोकाडो लगाएका छन् ।
‘३ वर्ष भएका बिरुवाले सामान्य उत्पादन दिन सुरु गरेको छ, २ वर्ष पुराना बिरुवा धेरै छन्, गत वर्ष लगाएका बिरुवा भर्खर सर्दैछन्,’ उनले भने ।
जिल्ला सदरमुकामका खगेन्द्र देवानले इलाम बजार नजिकैको सुन्तला बारीमा एभोकाडो खेती गरेका छन् । धेरै सुन्तला फलेकाले सुन्तलाबारीको नाम रहेको गाउँमा हाल सुन्तला मासिएर एभोकाडोको पहिचानले कब्जा जमाउन थालेको उनी बताउँछन् ।
‘सुन्तला विस्थापित भयो, नयाँ फलका रुपमा एभोकाडो खेती सुरु गरेका छौं, एउटै बोटबाट १ क्विन्टलसम्म उत्पादन हुन्छ,’ उनले भने, ‘एउटै झ्याङमा ८० हजारको एभोकाडो फलेको तथ्यांक छ ।’
अधिकांश किसानले सुन्तलाबारी मासेर एभोकाडो खेती गर्न थालेका छन् । करीब २० रोपनी क्षेत्रफल जमिनमा अढाइ सय बिरुवा रोपिएको देवानले जानकारी दिए । उनी भन्छन्, ‘कम स्याहारले नै उच्चतम आम्दानी लिन सकिने भएपछि सहज भएको छ ।’
नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका देवान सामाजिक तथा राजनीतिक भूमिकाको अलवा कृषि कर्ममा समेत रमाउने गरेका छन् । ‘हामी राजनीति गर्नेले ढुक्क बसेर खेती गर्न समय नहुँदो रहेछ तर एभोकाडोलाई त्यति धेरै समय दिनुपर्दैन फुर्सदमा खटिँदा मात्र पनि राम्रै उपार्जन छ,’ उनले भने ।
जिल्लामा यस वर्ष एभोकाडोको उत्पादन बढेको कृषि ज्ञान केन्द्र इलामले जानकारी दिएको छ । गत वर्ष ४१९ दशमलव २२ मेट्रिक टन एभोकाडो उत्पादन भएको इलाममा यस वर्ष ४२२ दशमलव ५ मेट्रिक टन एभोकाडो उत्पादन भएको ज्ञान केन्द्रका प्रमुख टानी बर्देवाले जानकारी दिए ।
गत वर्ष ५५ हेक्टर जमिनमा खेती लगाइएको थियो भने यस वर्ष ६० दशमलव ५ हेक्टर जमिनमा खेती गरिएको उनले बताए । उनका अनुसार गत वर्षको तुलनामा उत्पादकत्व भने घटेको छ । ‘गत वर्ष प्रतिहेक्टर ७ दशमलव ६३ मेट्रिक टन एभोकाडोको उत्पादकत्व थियो तर यस वर्ष प्रतिहेक्टर ७ दशमलव ३ मेट्रिक टन मात्र रहेको छ,’ उनले भने ।
नयाँ फलका रूपमा परिचित एभोकाडो पछिल्लो समय इलामका गाउँगाउँमा समेत विस्तार हुँदै गएको माइजोगमाईका खत्रीले बताए । सो फलबाट किसानले मनग्ये आयआर्जनसमेत गर्न थालेको स्वयम् किसानको भनाइ छ । १ दशक मलेसिया बसेर स्वदेश फर्किएका खत्रीले गाउँको बाँझो जमिनमा लगाएको एभोकाडो खेती यहाँको हावापानीमा एकदमै फस्टाएको बताए ।
एभोकाडो कात्तिक–मंसिरमा नै पाक्ने भएकाले यसको बजार राम्रो भएको किसान बताउँछन् । सुरुमा ३०० किलो बिक्ने एभोकाडोको बजार भाउ पनि तलमाथि भइरहन्छ । इलाम बजारमा हाल २०० रुपैयाँ प्रतिकिलो यसको खरिद बिक्री भइरहेको छ । ‘व्यापारीको दुःख छैन, बगानमै आउँछन् र मुस्टमा दामकाम गरेर पनि किन्छन्,’ देवानले भने ।
हाल इलाममा उत्पादित एभोकाडो इलामको स्थानीय बजार तथा झापा तथा सुनसरीमा बिक्री भइरहेको किसान तथा निजामती कर्मचारी कृष्ण लिम्बूले बताए । उनका अनुसार हाल इलामसहित, झापा, सुनसरी काठमाडौं लगायतका स्थानमा यसको बिक्री भइरहेको छ । बजारको समस्या नभएपछि पनि यस खेतीतर्फ किसानको आकर्षण बाक्लिएको हो ।
दिउँसो अन्यत्रै काम गरेर भए पनि बिहान बेलुकाको समय निकालेर खेती गर्न सकिने यो फल यस याममा मुख्य उत्पादन लिन सकिन्छ । दीर्घरोगीले समेत खान मिल्ने एभोकाडो फल लटरम्म फलेपछि एउटै बोटबाट राम्रो आम्दानी गर्न सकिने बताइएको छ । सुरुमा धनकुटाबाट ल्याएर रोप्न सुरु भएको एभोकाडो पछिल्लो समय प्रायः जिल्लाभर नै खेती विस्तार भइरहेको हो । कुनै लामो त कुनै डल्लो आकारको हुने एभोकाडो धेरै प्रजातिका हुने गरेका छन् । यसकै कुनै फल स्वादिष्ट त कुनै खास स्वाद नहुने गरेको उपभोक्ताको भनाइ छ ।
दानाबाट यसको उत्पादन लिन सकिन्छ । रुखमा फल्ने यसको फल सामान्यतया २०० ग्रामदेखि १ किलोसम्मको हुने गर्दछ । भित्र दानो बीचमा खानयोग्य फल र बाहिर बोक्राले ढाकेको हुन्छ । त्यस्तै एभोकाडो सजिलैसँग रोप्न सकिने कारण कृषक यस खेतीमा तानिएको रोङ गाउँपालिका–५ जिर्मलेका किसान प्रेम राईले बताए । एभोकाडो खेती गर्दा क्षेत्रफल भने बढी आवश्यक पर्छ । १ रोपनीमा करीब ६ वटासम्म एभोकाडो रोप्न सकिने माइजोगमाईका किसान खत्रीको भनाइ छ । कात्तिक महिनामा टिप्न सुरु गरिने एभोकाडोको फल फागुनसम्म बोटमा राख्न सकिने इलामका किसान एवं राजनीतिज्ञ देवानले बताए ।
ठूला होटल, पर्यटक र शहर बजारका वासिन्दाले प्रायः एभोकाडोलाई मुख्य फलको रुपमा उपभोग गर्न थालेको होटल व्यवसायी नवीना कार्कीले बताए ।