बेनी । सरकारले पर्यटकीय गन्तव्यको रूपमा छनोट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा युवा सक्रिय भएका छन् ।
रघुगंगा गाउँपालिकाका प्रमुख पर्यटकीय गन्तव्यको रूपमा परिचित धौलागिरि आइसफल पदमार्ग अन्तर्गत धौलागिरि हिमालको आधार शिविर क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा वडा नम्बर ७ चिमखोलाको मण्डली युवा क्लबले सक्रियता देखाएको हो ।
क्लबले आधार शिविरमा सूचनामूलक बोर्डसहित दृश्यावलोकन केन्द्र स्थापना गरेको छ । क्लब अध्यक्ष प्रवीन बुढाको नेतृत्वमा चिमखोलादेखि छरी–सुंगरथला हुँदै आधार शिविर पुगेका युवाको टोलीले समुद्री सतहदेखि ४ हजार ५० मिटर उचाइमा सूचना सहितको स्वागत बोर्ड स्थापना गरेका हुन् ।
क्लब अध्यक्ष बुढा, उचिव सन्दीप तिलिजा, सहकोषाध्यक्ष अनोज गर्बुजा, पर्यटन व्यवसायी कुशल पाइजा, क्लबका सदस्य एमन पुन, विशेष बुढा, थमन गर्बुजा, निसान गर्बुजा र ओविन्द्र गर्बुजाको टोलीले आधार शिविरको साथै कालीबराह ताल र सेतीनी छहरामा समेत दृश्यावलोकन केन्द्र स्थापना गरेका छन् ।
आइसफल पदमार्गअन्तर्गत पर्ने कालीबराह ताल समुद्री सतहदेखि ४ हजार ३०० मिटर उचाइमा अवस्थित रहेको छ ।
ताल परिसरमा रहेको कालीबराह थानमा स्थानीयले पूजापाठ समेत गर्ने चलन रहेको छ । क्लबले यसअघि चिमखोलामा स्वागत बोर्ड स्थापना गर्नुका साथै सोवाङधुरी र पानी डाक्ने डाँडामा दृश्यावलोकन केन्द्र (भ्यू पोइन्ट) स्थापना गरेको अध्यक्ष बुढाले बताए । ‘आइसफल पदमार्गका मुख्य–मुख्य पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि हामीले पहल थालेका हौं, क्लब आफैंले यसको नेतृत्व गरिरहेको छ भने देश तथा विदेशमा रहेका चिमखोलावासीले हाम्रो प्रयासमा साथ दिनुभएको छ,’ अध्यक्ष बुढाले भने ।
उनका अनुसार पर्यटनको अथाह सम्भावना भए पनि प्रचारप्रसार र पूर्वाधारको अभावले ओझेलमा परेको धौलागिरि आइसफल पदमार्गलाई चिनाउन क्लबले अभियानकै रुपमा कार्यक्रम सञ्चालन गरेको हो । टान, तत्कालीन जिल्ला विकास समिति म्याग्दी लगायतका विभिन्न निकायको अगुवाइमा म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्ने गरी विक्रम संवत् २०६८ सालमा म्याग्दीको गलेश्वर–राखुभगवती हुँदै धौलागिरि आइसफल पदमार्गको पहिलोपटक अध्ययन गरिएको थियो ।
पदमार्ग पहिचान गरेर पदमार्ग लगायतका पूर्वाधार बनाउन थालेको १ दशक बढी समय भए पनि अझै यो क्षेत्र ओझेलमा रहेको आइसफल पदमार्ग निर्माण अभियानका अगुवा ध्रुव पाइजाले बताए । ‘धेरैजसो अप्ठ्यारो ठाउँमा बाटो बनायौं, कतिपय ठाउँमा त हामीले बनाएको बाटो नै बाढीले पनि बगायो, तर फेरि पनि पदमार्ग बनाउने काम भइरहेको छ, यो पदमार्गमा पूर्वाधारसँगै प्रचारप्रसार र नक्सांकन गरेर योजनाबद्ध रुपमा अघि बढ्न जरुरी छ,’ तिलिजाले भने ।
समुदायस्तरबाट धौलागिरि आइसफल र आधार शिविरको प्रचारप्रसारका लागि धेरै प्रयास भए पनि पदमार्गको नक्सांकनसहित सरकारी तवरबाट उचित पहलकदमी हुनुपर्ने उनको भनाइ छ । पर्यटन मन्त्रालयबाट विनियोजन भएको बजेटबाट अहिले पनि धौलागिरि आधार शिविर जाने पदमार्ग निर्माण भइरहेको छ ।
गत आर्थिक वर्षमा पर्यटन विभागले ठेक्का लगाएको १ करोड ५४ लाख बजेटबाट १८ किलोमिटर पदमार्ग बनाउने सम्झौताअनुसार ससलधारा क्षेत्रबाट पदमार्ग बनाउने काम जारी रहेको छ ।