पाँचथर । ताप्लेजुङको ‘लाइफलाइन’का रूपमा रहेको मेची राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास र खाद्यान्नको अभाव हुन लागेको जनाउँदै सरोकारवालाले सङ्घीय सरकारको ध्यानाकर्षण गराएका छन् ।
बाढीपहिराले गरेको क्षतिको निरीक्षणका लागि आएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई भेट गरी ताप्लेजुङको टोलीले मानवीय सङ्कट उत्पन्न हुन लागेको जनाउँदै ध्यानाकर्षण गराएका हुन् ।
निरीक्षणका क्रममा पाँचथरको याङवरक गाउँपालिका–६ परेवा डाँडामा शनिवार मन्त्री ज्वालालाई भेट गर्दै ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङसहितको टोलीले मानवीय सङ्कट आउनबाट रोक्न आग्रह गरेको हो ।
प्रजिअ चेम्जोङका अनुसार यही असार २ गते बाढीले हेवाखोलाको पुल बगाउँदा ताप्लेजुङमा १५ दिन पुग्ने खाद्यान्न मौज्दात रहेको आकलन गरिएको थियो । हेवाखोला डाइभर्सनबाट केही घण्टा यातायातका साधन चल्दा थप केही खाद्यान्न र पेट्रोलियम पदार्थ ताप्लेजुङ भित्रिएको थियो ।
यसरी जम्मा भएको खाद्यान्न र पेट्रोलियम पदार्थ सकिन लागेको उनले जानकारी दिए । ‘हेवाखोला पुलका कारण मेची राजमार्गमा सवारीका साधन चल्न नसक्दा मानवीय सङ्कट आउन लागेको छ’, उनले भने, ‘त्यसैले मेची राजमार्ग र तमोर करिडोर चाँडोभन्दा चाँडो सञ्चालन गराउन मन्त्रीज्यूमार्फत म विशेष आग्रह गर्दछु ।’
ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापा जिल्लाको अवस्था दयनीय बनेको बताए । ‘पेट्रोलियम पदार्थ नपाइँदा यातायात अवरुद्ध हुन लागेको छ ।
चामलको मौज्दात सकिन लागेको छ’, उनले भने, ‘अब चार–पाँच दिनसम्म मालवाहक सवारी ताप्लेजुङ नआउने हो भने यहाँ समस्या हुन सक्छ । अहिले खाना पकाउने ग्यासको समस्या भएको छ ।’
डाइभर्सन सञ्चालनको प्रयास प्रभावकारी नभएको अध्यक्ष थापाले गुनासो गरे । यस्तै बेली ब्रिज निर्माणमा पर्याप्त जनशक्तिको परिचालन गर्न ताप्लेजुङवासीले आग्रह गरेका छन् ।
‘असार ३ गते १०-१२ दिनमा बन्छ भनेको बेली ब्रिज अझै १०-१५ दिनपछि मात्रै सम्पन्न हुने देखिन्छ’, अध्यक्ष थापाले भने, ‘यसमा सरकार गम्भीर बनेर लाग्नुपर्यो ।’
प्रजिअ चेम्जोङका अनुसार बाढी पहिराका कारण ताप्लेजुङमा तीन जनाको मृत्यु भएको छ भने तीन घाइते छन् । यस्तै तीन अझै बेपत्ता छन् ।
ताप्लेजुङमा बाढी पहिराका कारण सिदिङ्वा, सिरिजङ्घा र मैवाखोला गाउँपालिकाका गरी ३३ घरमा पूर्ण क्षति भएको छ भने उच्च जोखिममा एक सय ११ घर छन् ।
विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । उनीहरू आफन्त, विद्यालय र टेन्टमा आश्रय लिएर बसेका छन् ।
विस्थापितलाई नेपाल रेडक्रस सोसाइटी, प्रदेश र जिल्ला विपद् व्यवस्थापन कोषबाट सहयोग हुँदै आएको छ भने टेन्ट, कम्बललगायत बसोबासका सामग्री प्रदान गरिएको छ ।
ताप्लेजुङमा एउटा मोटरेबल पुल पूर्ण क्षति भएको छ भने तीन वटा मोटरेबल पुलमा क्षति पुगेको छ । यस्तै १० झोलुङ्गे पुल, १० लघु जलविद्युत्मा क्षति पुगेको प्रजिअ चेम्जोङले जानकारी दिए ।
मन्त्री ज्वालाद्वारा निरीक्षण
यसैबिच भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाले असार पहिलो साता आएको बाढीले बगाएका दुई सडक पुलको निरीक्षण गरेका छन् । निरीक्षणपछि उनले अत्यावश्यक रहेका सडक पुल निर्माणलाई चाँडै अघि बढाइने बताए ।
बाढीका कारण क्षतिग्रस्त संरचनाको निरीक्षणका लागि पाँचथरका सांसद वसन्तकुमार नेम्बाङ, सडक विभागका महानिर्देशक सुशील बाबु ढकालसहित मन्त्रालयको टोलीसहित आएका मन्त्री ज्वालाले शनिवार मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलाको सडक पुलको निरीक्षण गरे । यस क्रममा उनले निर्माणाधीन बेली ब्रिज, डाइभर्सन र फड्केको निरीक्षण गरे । यस्तै हिजो नै याङवरक गाउँपालिका–२ मेवाखोलास्थित दोभाने सडक पुलको निरीक्षण गरे ।
निरीक्षणपछि मन्त्री ज्वालाले मेची राजमार्गमा सवारी आवागमन सञ्चालन गर्न असार ३ गते नै बेली ब्रिज निर्माणको निर्णय भई काम थालिएको बताए । स्थलगत निरीक्षणपछि उहाँले काम द्रुतगतिमा भइरहेको पाइएको र यसमा झनै रफ्तार बढाउनुपर्ने अवस्था आएको बताए । ‘हेवाखोलापारिको जनजीवन अत्यन्तै कष्टकर बनेको पाइएको छ ।
आधारभूत आवश्यकताका वस्तुको अभाव भएको पाइएको छ’, मन्त्री ज्वालाले भने, ‘यो काम तुरुन्तै सम्पन्न गर्न र सबै स्रोतसाधनको प्रयोग गर्न म सबै निकायलाई निर्देशन दिन चाहन्छु ।’ बाढीले समस्या गर्दा डाइभर्सन सञ्चालन गर्न नसकिएको र आफूहरूको मुख्य ध्यान बेली ब्रिज चाँडो सम्पन्न गर्न मै रहेको उनले बताए ।
सांसद नेम्वाङले मन्त्री ज्वालालाई जिल्लामा पाइएकामा खुसी व्यक्त गरे । उनले राहत, क्षतिपूर्ति र पुनः निर्माणमा तदारुकता दिन आफूले सदन र भेटघाटमार्फत सरकारको ध्यानाकर्षण गराइरहेको बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली नै आएपछि क्षतिग्रस्त संरचनाको पुनः निर्माण चाँडै अघि बढ्ने विश्वास लिएको उनको भनाइ छ ।