तनहुँ । चालू आर्थिक वर्षमा तनहुँमा २ ठाउँमा मोटर गुड्ने पुल निर्माण सम्पन्न भएका छन् ।
जिल्लाको म्याग्दे गाउँपालिका–४ र ७ जोड्ने म्याग्दे खोला र नगरपालिका व्यास–११ सेरास्थित बुल्दीखोलामा मोटर गुड्ने पुल निर्माण सम्पन्न भएको हो ।
दुवै पुल निर्माणपश्चात् ४ हजार १४० घरधुरीका १६ हजार २१० जना प्रत्यक्ष लाभान्वित हुने पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।
म्याग्दे खोलामा निर्माण गरिएको पुलबाट १ हजार ५०० घरधुरीका ५ हजार ९६६ जना मानिस लाभान्वित हुने थर्पु–बेलसोती नयाँ सडक उपभोक्ता समितिका संस्थापक अध्यक्ष दिलीपकुमार श्रेष्ठले जानकारी दिए । पुलको मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक १ करोड ४१ लाख ५८ हजार ९९० रहेकामा निर्माण सम्पन्नपछि १ करोड ३२ लाख ३२ हजार ९१४ भुक्तानी गरिएको छ ।
विक्रम संवत् २०७९ भदौ १ गते सम्झौता भई २०८० साउन ३१ गतेभित्र सम्पन्न गर्ने गरी माई कन्स्ट्रक्सन एन्ड बिल्डर्स पर्वतले पुल निर्माण कार्यको ठेक्का पाएको थियो ।
बुल्दीखोलामा निर्माण गरिएको पुलबाट २ हजार ६४० घरधुरीका १० हजार २४३ जना लाभान्वित भएको बागेश्वरी मार्ग उपभोक्ता समितिले जनाएको छ ।
पुल भ्याटबाहेक ३ करोड १२ लाख ४६ हजार ६१३ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको छ । विक्रम संवत् २०७९ भदौ १ गते सम्झौता गरी २०८१ वैशाख ४ गते सम्पन्न गर्ने गरी माई–डिएस जेभीले ठेक्का लिएकामा लक्ष्य अगावै सम्पन्न गरेको छ ।
स्वीस सरकार विकास सहयोगअन्तर्गत स्थानीय सडक पुल कार्यक्रमको प्राविधिक सहयोगमा क्रमशः १२ र २० मिटर लम्बाइको पुल निर्माण सम्पन्न भएको स्थानीय सडक पुल कार्यक्रमका प्राविधिक अधिकृत सागर खाम्चाले जानकारी दिए । पक्की पुल निर्माणसँगै ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज बजारसम्म लैजान र गाउँमा ढुवानी गर्न सहज भएपछि स्थानीयवासी खुशी भएका छन् ।
पुलको निर्माण सम्पन्न भएपछि निर्माण कम्पनीलाई अन्तिम भुक्तानी दिने प्रक्रियामा रहेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिए ।