काभ्रेपलाञ्चोक । जिल्लाको बनेपा नगरपालिकाले ‘मेयरसँग नगर स्वास्थ्य कार्यक्रम’ अन्तर्गत दाँत फुक्लेका ६० वर्षभन्दा माथिका नागरिकलाई कृत्रिम दाँत निःशुल्क हालिदिने भएको छ ।
आवश्यकता पहिचान गरिएका ती उमेर समूहका स्थानीय नागरिकको निःशुल्क दाँत राख्न लागिएको नगरले जनाएको छ ।
नगरले दाँत नभएका नागरिकको पहिचानका लागि १४ वटै वडामा दन्त शिविर सञ्चालन गर्न कार्यतालिका सार्वजनिक गरेको प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले बताए । उनका अनुसार समाज डेन्टल केयर र सुप्रिम डेन्टल केयरको प्राविधिक सहयोगमा हुने शिविरबाट छनौट भएका सबैलाई निःशुल्क रूपमा दाँत राखिदिने योजना बनाइएको हो ।
शिविरबाट लागत अनुमान गरी सोही अनुसार कोटेसन/बोलपत्र आह्वान गरी कार्यक्रम गरिने जनाइएको छ । ‘ज्येष्ठ नागरिकको सम्मानका लागि उक्त प्रकारको कार्यक्रम गर्न लागेका हौं,’ नगर प्रमुख शान्तिरत्न शाक्यले भने ।
उनका अनुसार कार्यक्रमले नगरका ६० वर्षभन्दा माथिका नागरिकमा खुशी देखिने अपेक्षा गरिएको छ ।
यसैबीच, बनेपा नगरपालिका र रेयुकाई एईको मासुनागा आँखा अस्पतालको समन्वयमा बनेपाका ६९ विद्यालयमा अध्ययनरत २३ हजार ३८२ विद्यार्थीको निःशुल्क आँखा परीक्षण अभियान सञ्चालन भइरहेको छ । वडा नम्बर ६ स्थित भक्तेश्वर माविबाट विद्यालयबाट आँखा परीक्षणको औपचारिक सुरुआत गरिएको छ ।
अस्पतालले केही समयअघि शिक्षकलाई आँखासम्बन्धी तालिम दिँदा विद्यार्थीले अध्ययन गर्न नसक्नुमा आँखाको भिजन प्रमुख कारण भएको जानकारी भएपछि अभियान नै थालिएको नगरले जनाएको छ ।
प्रारम्भिक सूचनाका आधारमा आँखाको भिजन १० देखि १५ प्रतिशत विद्यार्थीमा कम भएको पाइएपछि नगरभित्रका सबै विद्यार्थीको एकैपटक आँखा परीक्षण गरी देखिएको समस्याको उपचार गराइने छ । ‘स्थानीय नागरिकका लागि आधारभूत स्वास्थ्य उपलब्ध गराउने नगरको दायित्व भएकाले आँखा लगायत नसर्ने रोग नियन्त्रण र त्यसको परीक्षण तथा पहिचान गरी उपचार गर्ने गरी अभियान सुरु गरेका हौं,’ शाक्यले भने ।
नगरका बालबालिका, महिला र ज्येष्ठ नागरिकको अलावा नगरभित्रका विपन्न समुदायका नागरिकलाई सरल र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन नगरले आधारभूत अस्पताल, स्वास्थ्य चौकीको स्तरोन्नति तथा सुविधा सम्पन्न बनाउँदै लगिएको नगर उपप्रमुख विमला सापकोटाले बताइन् । उनका अनुसार अभियानअन्तर्गत आँखा परीक्षणसँगै तत्कालै आवश्यक पर्ने औषधी निःशुल्क उपलब्ध गराइएको छ भने बालबालिकामा थप संक्रमण वा समस्या देखिएमा अस्पताल पुर्याई निःशुल्क सेवा उपलब्ध गराइनेछ ।