काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।
केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बिहान ११ बजेदेखि बैठक सुरू हुनेछ ।
बिहीबारदेखि सुरू भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठको एजेन्डा प्रस्तुत गरेका थिए ।
महासमिति बैठकको तयारी, समसामयिक राजनीतिक घटनाक्रम, सरकारको १ वर्षे समीक्षा र कांग्रेसबाट मन्त्री भएकाहरूका कार्यसम्पादनका अवस्था, जाजरकोट भूकम्पपछि पार्टीले गरेका कामका समीक्षा, समुदायमा कांग्रेसः मेलमिलाप दिवसदेखि सहिद दिवससम्म अभियान एजेन्डा रहेका शर्माले बताएका थिए ।
बैठकमा सरकारमा रहेका मन्त्रीहरूले आफ्नो कामकारवाहीबारे जानकारी दिइरहेका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले धारणा राखेका थिए ।
बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ, अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उद्योग मन्त्री रमेश रिजाल, शहरी विकास मन्त्री सिता गुरूङ, खेलकुदमन्त्री डिगबहादुर लिम्बू र महिला, बालबालिका तथा ज्येष्ठ नागरिका मन्त्री सुरेन्द्रराज आचार्यले धारणा राख्न बाँकी छ ।