कानुन व्‍यवसायीद्धारा नायब सुब्बा प्रेमिका तामाङमाथि कुटपिट, देशभरिका अदालत दिउँसो १ बजेसम्म बन्द 

कानुन व्‍यवसायीद्धारा नायब सुब्बा प्रेमिका तामाङमाथि कुटपिट, देशभरिका अदालत दिउँसो १ बजेसम्म बन्द 

काठमाडौं । ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि कुटपिट गरेको विरोधमा आज देशभरि विरोध प्रदर्शन भइरहेको छ । 

नायब सुब्बा तामाङमाथि कुटपिट परेको भन्दै आज देशभरिका अदालतका कर्मचारीले काम नै रोकेर विरोध गरेका हुन् । 

आइतबार त्यस घटनाको विरोध स्वरूप सबै अदालतमा काम रोकेको सर्वोच्च अदालतका शाखा अधिकृत कृष्णप्रसाद घिमिरेले बताए ।

कर्मचारीहरूको चार वटा सङ्गठनले विरोध गरेको हो। कर्मचारीहरूले विरोध स्वरूप बिहान १० बजेदेखि साढे १ बजेसम्म काम नगर्ने जनाएको हो। 

गत बुधवार अपराह्न साढे ४ बजे जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका तामाङमाथि काठमाडौं–१४ का ३६ वर्षीय कानुन व्यवसायी अमिर लामिछानेले कुटपिट गरेका थिए। 

मिसिल हेर्ने विषयमा विवाद भएपछि उनले तामाङमाथि कुटपिट गरेका थिए। तारेख लिन तामाङको फाँटमा पुगेका कानुन व्यवसायी लामिछानेले भीड भएको स्थानमा बसेर मिसिल अध्ययन गरिरहेका थिए।

नासु तामाङले मिसिलको फोटोकपी लिएर जान भनेपछि उनले अपशब्द बोलेर उनीमाथि कुटपिट गरेका हुन् ।

तामाङले भनिन्, ‘म मिसिल दिन्न तर तपाईँलाई चाहिन्छ भने म फोटोकपी उपलब्ध गराउन सक्छु भनेर भनेँ । त्यसो भए मलाई मिसिल हेर्न नदिने हैन त भन्नुभयो। फोटोकपी मात्रै उपलब्ध गराउन सक्छु मिसिल नै दिए त मेरो जागिर जान सक्छ भनेपछि उहाँले कुट्नुभयो। तँ धेरै जान्ने हुन्छेस्, तँ को होस् । मलाई किन तँ भनेर यसरी गाली गरेर बोल्नुभयो भन्दा उहाँले हिर्काउनुभयो। मुक्काले नै हिर्काउनुभयो । दुइटा दाँत हल्लिएको छ। मुखमा चोट लागेको छ। तान्दा कपडा च्यातिएको छ।’

उक्त घटनापछि पीडित तामाङले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन्। 

जाहेरी दिएसँगै प्रहरीले उनलाई पक्राउ गरेको थियो। उनीमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान जारी छ।