काठमाडौं । ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर एक जना युवाको ज्यान गएको छ ।
रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर भइरहेको युवाहरुको आन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर दैलेखको महाबु गाउँपालिका ६ का सुदन राउतको ज्यान गएको ललितपुरका प्रहरीले बताएको छ । उनको उपचारका क्रममा पाटन अस्पतालमा ज्यान गएको हो ।
युवाहरुको भिड अनियन्त्रित भएको र वरपरका पसल तथा गाडीमा अन्धाधुन्ध आक्रमण गर्न थालेपछि प्रहरीेले बल प्रयोग गरेको स्रोतको भनाई छ । केही प्रहरी र आन्दोलनकारी घाइते भएका छन् ।
घाइतेको विभिन्न अस्पतालमा उपचार भए पनि संख्या यकिन नभएको ललितपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए । ५४ जनालाई पक्राउ गरिएको उनले बताए । प्रहरीले लाठीचार्ज र अश्रुग्यास हानेर युवालाई तितर बितर पारेको छ ।
आन्दोलन गरेका युवाहरुले आजै मन्त्रीको गाडी जलाएका छन् । युवाहरुको आन्दोलन चलिरहेको बेला पार्टी कार्यालय जान हिँडेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकास ज्वालाको गाडीमा विद्यार्थीले आगजनी गरेका हुन ।
मन्त्री र २ जना सुरक्षाकर्मीलाई गाडीबाट निकालेर उनीहरुले गाडीमा आगो लगाएका प्रहरीले जनाएको छ । पानी जहाज बनाउने काम अर्थात ‘सिप बिल्डिङ’का लागि परीक्षा फारम भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने निर्णयविरुद्ध युवाले आन्दोलन गरेका प्रहरीले जनाएको छ ।
इपीएस कार्यालयको निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए । अदालतले सिप बिल्डिङमा फेल भएकालाई उत्पादनमुलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन आदेश दिएको थियो । तर ईपीएसले मुद्दा हाल्ने युवालाई मात्र फारम खुलाएपछि अरु युवाले आन्दोलन गरेका हुन् । प्रदर्शनका कारण चक्रपथ सहित वरपरका सडकमा ट्राफिक अवस्था अस्तव्यस्त भएको छ ।
बालकुमारी घटनाका अर्का घाइते पाटन अस्पतालको आईसीयूमा
ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा सहभागी एक जना घाइतेको अवस्था गम्भीर छ । प्रहरीको गोली लागेपछि उनलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो ।
ती प्रदर्शनकारीको आईसीयूमा उपचार भइरहेको पाटन अस्पतालले जनाएको छ ।