बैतडी । प्रधानमन्त्री कप पुरूष १ दिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट अर्थात् प्लेट च्याम्पियनसिपको उपाधि बझाङले हात पारेको छ ।
उपाधिसँगै बझाङ इलाइट च्याम्पियनसिपका लागि पनि छनोट हुन सफल भएको छ ।
प्लेट च्याम्पियनसिपको अन्तिम खेलमा आज डोटीलाई ६ विकेटले हराउँदै बझाङ छनोट भएको हो । जीतका लागि पाएको १८६ रनको लक्ष्य बझाङले २९ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । त्यसमा सनम बुढाथोकीले अर्धशतकीय पारी खेल्दै ७२ रनको योगदान गरे । सनम खेलका म्यान अफ द म्याच घोषित भएको स्कोरर दीपेन्द्रबहादुर बोहराले बताए ।
यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा टस हारेर ब्याटिङको निम्ता पाएको डोटीले ८ विकेटको क्षतिमा १८५ रन बनायो । डोटीका खगेन्द्र जोशीले ६३ रनको पारी खेले । बझाङका पारस रोकायाले २ विकेट लिए ।
विजेता टोलीलाई दशरथचन्द नगरपालिकाका पूर्व नगर प्रमुख नरेन्द्रसिंह थापा, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बोहरा, बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्द, उपाध्यक्ष लोकराज जोशी, सचिव सिद्धराज बोकटी लगायतले पुरस्कार वितरण गरे ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना तथा बैतडी जिल्ला क्रिकेट संघको सहआयोजनामा पुस ८ गतेदेखि प्रतियोगिता सञ्चालन भएको थियोे । प्रादेशिक क्रिकेट संघले यस वर्षदेखि २ चरणमा छनोट प्रतियोगिता गरिरहेको छ ।
पहिलो चरणमा बैतडीमा प्लेट च्याम्पियनसिप भएको हो । दोस्रो चरणमा बैतडी र कैलालीमा इलिट च्याम्पियनसिपका खेल हुनेछन् । प्लेट च्याम्पियनसिपमा दार्चुला, बझाङ, डडेल्धुरा र डोटी तथा इलिट च्याम्पियनसिपमा बैतडी, कैलाली, कञ्चनपुर, अछाम र बझाङ सहभागी हुनेछन् ।
गत वर्षको प्रदेश छनोटमा सेमिफाइनल पुगेका टोलीले सोझै इलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसिप खेलेका हुन् । इलिट च्याम्पियनसिपको पहिलो खेलमा शनिबार बैतडी र बझाङ बीचको खेल बैतडीमै हुनेछ ।